नेपाल सुपर लिग

नेपाल सुपर लिगः बुटवललाई हराउँदै पोखरा प्लेअफमा

काठमाडौं । इन्जुरी समयमा मोसेस टुमले निर्णायक गोल गरेपछि पोखरा थन्डर्ससे एफसी बुटवल लुम्बिनीलाई १–० ले पराजित गरेको छ । प्राप्त जितसँगै पोखरा नेपाल सुपर लिग(एनएसएल)को दोस्रो सिजनमा प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न दोस्रो खेलमा टुमले मार्की खेलाडी आयुष घलानको सुन्दर थ्रु पासलाई सदुपयोग गरेका थिए । टुम जारी एनएसएलको उच्च गोलकर्ताको सुचीमा पहिलो स्थानमा उक्लिएका छन् । आजको गोलसँगै टुमको गोलसङ्ख्या ४ पुगेको छ । यस जितसँगै पोखरा सात खेलमा १४ अंक जोड्दै तालिकाको पहिलो स्थानमा पनि उक्लिएको छ ।

हारले बुटवलको प्लेअफ पुग्ने लक्ष्यमा धक्का पुगेको छ । सात खेलमा ७ अंक मात्र जोडेको बुटवल गणितीय हिसाबमा प्लेअफको दौडबाट बाहिरिएको छ । एक खेल कम खेलेका झापा एफसीको समान ७ अंक छ र उ गोलभिन्नताका आधारमा बुटवलभन्दा अगाडि छ । त्यस्तै चौंथो स्थानमा रहेको काठमाडौं रेजर्सको ६ खेलबाट ९ अंक छ । त्यसैले बुटवलको प्लेअफ सम्भावना समाप्त रहेको बुझ्न सकिन्छ ।

खेलमा पोखराले एकपछि अर्को आक्रमण बुनेको थियो । यसबीच बुटवलले पनि केही राम्रा सेटपीस अवसरलाई गोलमा परिणत गर्न सकेन । जसका कारण निर्धारित समयसम्म कुनै पनि गोल भएन ।

दोस्रो हाफको १०औं मिनेटमा आयुषको कर्नरलाई बुटवलका गोलकिपर मोहोमडुले नियन्त्रणमा लिन सकेनन् । प्राप्त फ्रि हेडरमा पोखराका सर्वाधिक गोलकर्ता टुमले बललाई पोस्टको दिशा दिन सकेनन् ।

खेलको ६५औं मिनेट सञ्जीव विष्ट वान भर्सेस वानमा चुके । उनको प्रहार मोहोमडुले बचाए । त्यसको केही सेकेन्ड्समै अन्जल महर्जनको क्रसमा टुमले गरेको हेडर बाहिरिँदा बुटवलले अर्को खतरा टार्यो ।

दोस्रो हाफको मध्यतिर मार्की खेलाडी एरिक विष्टको फ्रिकिक पोखराका गोलकिपर प्रिसो एनजाङ्गाले बचाए । यसअघि पोखराका कप्तान दीनेश राजववंशीले आइकोनिक खेलाडी आशिष लामालाई लडाएपछि बुटवलले २४ यार्ड पर सेटपीस अवसर प्राप्त गरेको थियो ।

निर्धारित समय सकिन चार मिनेट बांकी छँदा मोहोमडु पुनः बाधक बन्दा पोखराले अग्रता लिन सकेन । ३० यार्ड परबाट जो आइडोले गरेको शक्तिशाली प्रहार मोहोमडुले बचाए ।

इन्जुरी समयको एक मिनेटमै टुमले पोखरालाई अग्रता दिलाए । आयुषको पासमा टुमले गरेको लोअर प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

पहिलो चरणको अन्तिम खेलमा पोखराले शुक्रबार धनगढी एफसीको सामना गर्नेछ । त्यस्तै बुटवलले शनिबार प्लेअफको दौडबाट बाहिरिसकेको अर्को टोली वीरगंज युनाइटेडसँग अन्तिम खेल खेल्नेछ ।