आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः अफगानिस्तानले इङ्ल्यान्डलाई हरायो

काठमाडौं । अफगानिस्तानले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पहिलो जित निकालेको छ ।

दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा आइतबार अफगानिस्तानले साबिक विजेता इङ्ल्यान्डलाई ६९ रनले स्तब्ध बनाएको हो । अफगानिस्तानले पहिलो पटक इङ्ल्यान्डमाथि जित निकाल्यो ।

यो नतिजासँगै दुवै टोलीको तीन खेलबाट समान दुई अंक छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४०.३ ओभरमा २ सय १५ रनमा समेटियो ।

इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले ६१ बलमा सात चौका र १ छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी डेविड मलानले ३२, आदिल राशिदले २०, मार्क उडले १८, रिस टोप्लीले अविजित १५, जो रुटले ११ तथा  लियम लिभिङ्स्टोन र साम करनले समान १० रन जोडे ।

अफगानिस्तानका लागि मुजिब उर रहमान र राशिद खानले समान तीन, मोहम्मद नाबीले दुई तथा फजलहक फारुकी र नविन उल हकले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८४ रनको योगलफल तयार पारेको थियो ।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्बाजले ५७ बलमा आठ चौका र चार छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी  इक्रम अलीखिलीले ६६ बलमा तीन चौका २ छक्काको मद्दतले ५८, मुजिब उर रहमान र  इब्राहिम जाद्रनले समान २८ र राशिद खानले २३, अज्मतुल्लाह ओमरजाइले १९ र कप्तान हस्मतुल्लाह शाहिदीले १४ रन बनाए ।

पहिलो विकेटका लागि गुर्बाज र जाद्रनले १ सय १४ रनको साझेदारी गरेका थिए ।

इङ्ल्यान्डका लागि आदिल राशिदले तीन, मार्क उडले दुई तथा रिस टोप्ली, जो रुट र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए ।

यसअघि न्युजिल्यान्डसँग नौ विकेटको पराजय व्यहोरेको इङ्ल्यान्डले बंगलादेशलाई १ सय ३७ रनले हराएको थियो । यसअघि अफगानिस्तान बंगलादेशसँग ६ विकेट र भारतसँग ८ विकेटले स्तब्ध बनेको थियो ।