आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः पाकिस्तानलाई श्रीलंकाको ३ सय ४५ रनको लक्ष्य

काठमाडौं । कुशल मेन्डिस र सदिरा समराविक्रमाको शतकप्रेरित श्रीलंकाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पाकिस्तानसामू ३ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ४४ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतले सर्वाधिक १ सय २२ रनको योगदान गरे । यसैगरी समराविक्रमाले ८९ बलमा ११ चौका र २ छक्काको मद्दतले १ सय ८, पाथुम निसन्काले ६१ बलमा ७ चौका र १ छक्काको मद्दतले ५१ र धनन्नजय डि सिल्भाले २५, कप्तान दासुन सनकाले १२ र दुनिथ विलागेले अविजित १० रन बनाए ।

मेन्डिसले तेस्रो विकेटका लागि समराविक्रमासँग १ सय ११ र दोस्रो विकेटका लागि निसन्कासँग १ सय २ रन तथा समराविक्रमाले डि सिल्भासँग पाँचौं विकेटका लागि ६५ रनको साझेदारी गरे ।

पाकिस्तानका लागि हसन अलीले ४, हरिस रौफले २ तथा  शाहिन शाह अफ्रिदी, मोहम्मद नवाज र शादब खान समान १ विकेट लिए । 

पाकिस्तान लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गरेको थियो ।

यता श्रीलंका पहिलो जितको लक्ष्यमा छ । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १ सय २ रनले स्तब्ध बनेको थियो ।