आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः भारतविरुद्ध अस्ट्रेलिया ब्याटिङमा

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले आयोजक भारतविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ ।

चेन्नईको चिदम्बर क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने खेलमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

खेलमा भारतका ओपनर सुभमन गिललले डेङ्गीका कारण यो खेल गुमाउनेछन् । कप्तान रोहित शर्मा र प्रशिक्षक राहुल द्रविडले गिलको स्थानमा इशान किशनलाई खेलाउन सक्छन् ।

पाँच वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको भारत उच्च लयमा छ । भारतले एसिया कपको उपाधि जितेको थियो । त्यसपछि अस्ट्रेलियाविरुद्धकै एकदिवसीय शृंखला २-१ ले जितेको थियो ।

प्याट कमिन्सको टोलीमा कुनै चोट समस्या छैन । यद्यपि टोलीको पछिल्लो प्रदर्शन खस्कदो छ । विश्वकपको वार्म अप खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई हराएको थियो । भारतले भने इंङ्ल्यान्ड र नेदरल्यान्डबीचको दुवै खेल वर्षाका कारण खेल्न पाएन ।

दुई टोलीबीच हालसम्म एक सय ४९ एकदिवसीय खेल भएको छ । अस्ट्रेलिया धेरै ८३ र भारतले ५६ खेल जितेको छ । १० खेलमा कुनै नतिजा आएको छैन ।

विश्वकपमा पनि अस्ट्रेलियाको दबदबा छ । १२ पटक खेलिएको खेलमा आठ अस्ट्रेलिया र चार भारतले जितेको छ । पछिल्लो पटक सन् २०१९ मा भएको भेटमा भारतले अस्ट्रेलियालाई हराएको थियो ।