एसिसी इमर्जिङ टिम्स एसिया कप

श्रीलंकाको विजयी सुरुआत

काठमाडौं । घरेलु टोली श्रीलंका ‘ए’ ले  एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा विजयी सुरुआत गरेको छ ।

श्रीलंकाले बिहीबार सम्पन्न खेलमा बंगलादेश ‘ए’ माथि ४८ रनको जित निकालेको हो ।

कोलम्बोस्थित सिंहली स्पोर्टस क्लबमा श्रीलंकाले प्रस्तुत गरेको ३ सय ५० रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.३ ओभरमा ३ सय १ रन मा समेटियो ।

बंगलादेशका लागि कप्तान मोहम्मद शैफ हसनले ४६ बलमा ४ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५३ रनको योगदान गरे । 

यसैगरी तान्जिद हसनले ३९ बलमा ११ चौकाको मद्दतमा ५१, सौम्य सरकारले ४२, राकिबुल हसनले ४०, मेहदी हसनले ३१, जाकिर हसनले २६, मोहम्मद नइम शेखले २२, रिपोन मन्डलले अविजित १६ र महम्मद जोयले ११ रन बनाए ।

तेस्रो विकेटका लागि जाकिर र मोहम्मद शैफले ७८, पहिलो विकेटका लागि तान्जिद र महम्मद नइमले ६९ तथा नवौं विकेटका लागि राकिबुल र रिपोनले ५२ रनको साझेदारी गरेका थिए ।

श्रीलंककाका लागि प्रमोद मदुसन र दुसन हेमन्थले समान ३,सहान अर्चिगेले २ तथा चमिका करुणारत्ने र दुनिथ वेललागेले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले  निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि आविस्का फर्नान्डोले १ सय २४ बलमा १३ चौका र ३ छक्काको मद्दतमा १ सय ३३ रनको योगदान गरे । यसैगरी मिनोद भानुकाले ५५ बलमा ४ चौका र ३ छक्को मद्दतमा ५७, पसिन्दु सूरियाबन्दराले ४३, अशेन बन्दराले ३५, लसिथ क्रुसपुल र कप्तान दुनिथ वेललागेले समान ३१ रन बनाए ।

अविस्काले दोस्रो विकेटका लागि मिनोदसँग १ सय २५, चौथो विकेटका लागि पसिन्दुसँग ७५ र पहिलो विकेटका लागि लसिथसँग ५१ रनको साझेदारी गरे । यसैगरी छैटौं विकेटका लागि दुनिथ र अशेनले ६२ रनको साझेदारी गरेका थिए ।

बंगादेशका लागि रिपोन मन्डल र सैम्य सरकारले समान ३ तथा राकिबुल हसन र मेहदी हसनले समान १ विकेट लिए ।

यसैगरी बिहीबार नै सम्पन्न खेलमा अफगानिस्तान ‘ए’ ले ओमान ‘ए’ लाई ७२ रनले पराजित गरेको छ । 

प्रतियोगिता अन्तर्गत शुक्रबार नेपाल र पाकिस्तान ‘ए’ तथा भारत ‘ए’ र युएई ‘ए’ प्रतिस्पर्धा गर्नेछन् ।