आइसिसी एकदिवसीय विश्वकप छनोट

एकदिवसीय विश्वकप छनोटः जिम्बावेले ओमानलाई हरायो

काठमाडौं । ओमानमाथि १४ रनको रोमाञ्चक जित निकाल्दै घरेलु टोली जिम्बावेले आइसिसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा सुखद सुरुआत गरेको छ ।

लगातार पाँचौं जित निकालेको जिम्बावे ३ खेलमा ६ अंकका साथ सुपर सिक्समा शीर्ष स्थानमा छ । पराजय ब्यहोरेको ओमान समान खेलमा अंक विहिन हुँदै पुछारमा छ ।

क्विन्स स्पोर्टस क्लबमा बिहीबार सम्पन्न खेलमा जिम्बावेले प्रस्तुत गरेको ३ सय ३३ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभर नै ब्याटिङ गर्दै ९ विकेट गुमाएर ३ सय १८ रन बनायो ।

ओमानका लागि काश्यप प्रजापतीले ९७ बलमा १२ चौका र १ छक्काको मद्दतमा १ सय ३ रन बनाए पनि टोलीलाई जित दिलाउन भने सकेनन् । यसैगरी आयन खानले ४५, अकिब इल्यासले ४५, कप्तान जिसन मक्सुदले ३७, मोहम्मद नदिमले अविजित ३०, नसिभ खुसीले १२, सोयब खानले ११ र फयाज बटले १० रन जोडे ।

दोस्रो विकेटका लागि प्रजापती र इल्यासले ८३ रनको साझेदारी गरेका थिए ।

जिक्बावेका लागि  टेन्डाइ चतरा र ब्लेसिङ मुजरबानीले समान ३, रिचार्ड नग्रभाले २ तथा सिकन्दर राजाले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३२ रनको योगफल तयार पारेको थियो ।

जिम्बावेका लागि सेन विलियम्सले १ सय ३ बलमा १४ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक १ सय ४२ रनको योगदान गरे । यसैगरी लुक जोन्गवेले अविजित ४३, सिकन्दर राजाले ४२, कप्तान क्रेइग इर्भिनले २५, विस्ली मेधेभेरेले २३,जोयलर्ड गाम्बीले २१, रायन बर्लले १३  र रिचार्ड नग्रभाले अविजित ११ रन बनाए ।

विलियम्सले चौथो विकेटका लागि राजासँग १ सय २ तथा तेस्रो विकेटका लागि मेधेभेरेसँग ६४ रनको साझेदारी गरे ।

ओमानका लागि फयाज बटले ४ तथा कालिमुल्लाह, बिलाल खान र  जिसन मक्सुदले समान १ विकेट लिए ।

जिम्बावेले आइतबार श्रीलंका तथा मंगलबार स्कटल्यान्डको सामना गर्नेछ । बाँकी दुई मध्य एक खेलमा विजयी भए जिम्बावे विश्वकपमा पुग्ने छ ।