एसिसी प्रिमियर कप

उपाधि जित्नु नै हाम्रो लक्ष्य होः प्रशिक्षक देशाई

काठमाडाैं । मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपालको लक्ष्य एसिसी प्रिमियर कप जित्नु रहेको बताएका छन् । देशाइले सोमबार पत्रकारसँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन्  ।

‘उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछौं । घरेलु मैदानमा खेल्नु हाम्रो लागि केही फाइदाजनक हुनसक्छ । खेलाडीले मैदानको बारेमा राम्रोसँग बुझेका छन् । घरेलु दर्शकको समर्थन रहनेछ,’ देशाईले भने,‘ खेलाडीको मनोबल उच्च छ । अभ्यास पनि राम्रो भएको छ । टोलीका हरेक सदस्यलाई आफ्नो भुमिकाको बारेमा राम्रोसँग थाहा छ । हामीबाट ठूलो अपेक्षा राखिएको छ । त्यसलाई पूरा गर्ने प्रयास गर्नेछौं ।’

यसैगरी देशाईले प्रतियोगितामा सहभागी अन्य टोली पनि एउटै लक्ष्यका साथ मैदान उत्रिने बताएका छन् ।

‘प्रतियोगितामा सहभागी सबै टोलीको लक्ष्य उपाधि जित्नु नै हाे। सबै टोली बलिया छन् । कुनै पनि टोलीविरुद्ध सहज हुने छैन,’ देशाईले थपे,‘प्रतियोगिता भोलीबाट सुरु हँदैछ तर, खेलाडीको मानसिकता भने आजैबाट सुरु भइसकेको जस्तो छ । हामी प्रतियोगिताका लागि उत्साहित र तयार छौं । मेरा लागि मलेसिया नयाँ टोली भएकाले उनीहरुको बारेमा मलाई खासै जानकारी छैन । तर मलाई आशा छ हामी जितका साथ प्रतियोगिताको सुरुआत गर्नेछौं । ’

एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता मंगलबार देखि सुरु हुँदैछ ।

आगामी बैशाख १८ सम्म संञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

कुल २४ खेल हुने प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । यसैगरी समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन् ।

हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ । यसैगरी प्रतियोगिताका शीर्ष तीन टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछन् ।

नेपालले मंगलबार मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।