एसिसी प्रिमियर कप

प्रिमियर कपका लागि नेपालको टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । घरेलु मैदानमा हुने एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपालको टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो ।

आगामी बैशाख ५ देखि १८ सम्म संञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

कुल २४ खेल हुने प्रतियोगितामा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । यसैगरी समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन् ।

हरेक समूहमा शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ । यसैगरी प्रतियोगिताका शीर्ष तीन टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछन् ।

 नेपालले बैशाख ५ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।

यसैगरी नेपालले बैशाख ८ मा ओमान, ११ गते साउदी अरेबियार र १४ गते कतारको सामना गर्नेछ ।

नेपाली  टोली 
रोहितकुमार पौडेल (कप्तान),दिपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी ,सन्दीप लामिछाने, प्रतिश जिसी, सोमपाल कामी, ललितनारायण राजवंशी, भिम सार्की, कुशल मल्ल, गुल्सन झा

वैकल्पिक खेलाडी
अर्जुन साउद, किशोर महतो,सन्दीप जोरा र सुर्य तामाङ