ओमरजाईको प्रभावशाली प्रर्दशनमा ललितपुरको पहिलो जित

काठमाडौं, (खेलाडी)-  अज्मतुल्ला ओमरजाई बलिङ र ब्याटिङ दुवैमा चम्मिएको दिन ललितपुर पेट्रियटसले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलो जित हात पारेको छ ।
ललितपुरले विराटनगरलाई ३७ रनले हरायो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ललितपुरले प्रस्तुत गरेको २ सय २७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८९ रन मात्र जोड्न सक्यो ।
विराटनगरका दिलसान मुरविराले ५९, ओपनर आसिफ शेखले ३७ र चन्द्रपाउल हेमराजले २८ रन जोडे ।
ओमरजाईले चार ओभरमा ४२ रन खर्चदै चार विकेट लिए । त्यस्तै ललित राजवंशीले दुई विकेट लिए ।
चौथो खेलमा ललितपुरको यो पहिलो जित हो । पहिलो खेलमा काठमाडौं किंग्स इलेभनलाई नतिजा सुम्पिएको ललितपुर दोस्रो खेलमा पोखरा राइनोजसँग पराजित भएको थियो । तेस्रो खेलमा मधुर प्रकाशका कारण ललितपुरले बिहिबार भैरहवा ल्याडियटर्ससँग अंक बाँडेको थियो । 
विराटनगरको भने यो लगातार तेस्रो हार हो ।

यसअघि टस हारेर ब्याटिङका लागि उत्रिएको ललितपुरले ओमरजाईको आक्रामक ब्याटिङमा  विराटनर वारियर्ससामु दुई सय २७ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो । ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय २६ रनको योगफल तयार पारेको हो ।
ओमरजाईले २४ बलमा ७ चौका मद्दतमा अविजित ५८ रन बनाए भने नारायणा जोशीसँग चार बलमा तनि छक्का मद्दतमा अविजित १८ रन बनााए । नरायणले रामनरेश गिरीलाई २० औ ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए ।
त्यस्तै ओपनर सन्दुन विराकोदेले ४३ बलमा १० चौका र तीन छक्का मद्दतमा ७३ रन प्रहार गरे ।विराकोदेले पहिलो विकेटका लागि कप्तान कुशल भुर्तेलसँग ७० रनको साझेदारी गरे । कुशलले १७ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।
योगेन्द्रसिहं कार्कीले ३२ रन जोडे ।
विराटनगरका करण केसीले दुई तथा सिकन्दर राजा,दिलसान मुनाविरा र प्रतिश जिसीले समान एक विकेट लिए ।