एपिएफको महिला टोली फाइनलमा

काठमाडौं, (खेलाडी)- सशस्त्र प्रहरी बलको एपिएफ क्लबको महिला टोलीले राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न सेमिफाइनलमा साविक विजेता एपिएफले विभागीय प्रतिद्वन्द्वी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३-२ को प्रतिस्पर्धात्मक नतिजामा पराजित गर्‍यो । 

राष्ट्रिय टिमका सदस्यको बाहुल्य रहेको दुई टोलीबीचको रोमाञ्चक खेलमा एपिएफले पहिलो सेट २७-२५ ले जिते पनि दोस्रो सेट २५-२१ ले गुमायो । आर्मीले खेलमाथिको नियन्त्रण कायम राख्ने क्रममा तेस्रो सेट २७-२५ जित्दै २-१ को अग्रता लियो । 

तर, चौथो सेटमा पुनरागमन गरेको एपिएफले २६-२४ मा आर्मीलाई हराउँदै खेल २-२ को बराबरीमा ल्यायो । निर्णायक पाँचौं सेटमा आर्मीले सुरुआती अग्रता लिए पनि एपिएफले १५-१३ ले बाजी मार्दै विभागीय प्रतिद्धन्द्धीलाई उपाधि लक्ष्यबाट बञ्चित गरायो । 

शनिबार हुने उपाधि भिडन्तमा एपिएफले न्यु डाइमन्ड क्लब वा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । होङ्वान्जी न्यु डाइमन्ड क्लब र नेपाल पुलिस क्लबबीचको दोस्रो सेमिफाइनल अहिले राखेपको कभर्डहलमा भइरहेको छ । 

शुक्रबारै हुने पुरुषतर्फको सेमिफाइनलमा नेपाल पुलिस क्लब र साविक विजेता टिपटप हेल्प नेपाल तथा नेपाल आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।