एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला

न्युजिल्यान्डको फराकिलो जित

काठमाडौं ।  घरेलु टोली न्युजिल्यान्डले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत पहिलो खेलमा श्रीलंकामाथि एक सय ९८ रनको फराकिलो जित निकालेको छ ।

यस जितसँगै न्युजिल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ ।

अकल्यान्डस्थित इडेन पार्कमा शनिबार सम्पन्न खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको दुई सय ७५ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा ७६ रनमै समेटियो ।

श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले १८, चामिका करुणारत्नेले १० र लाहिरु कुमाराले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि हेनरी सिफ्लेले सात ओभरमा ३१ रन खर्चेर सर्वाधि पाँच विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रियमा सिप्लेले पहिलो पटक पाँच विकेट लिएका हुन् । यसैगरी ड्यारिल मिचेल र ब्लेयर टिकनेरले दुई समान विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल तयार पारेको थियो ।

न्युजिल्यान्डका फिन एलेनले ४९ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ५१ रन बनाए । यसैगरी रचिन रविन्द्रले ४९, ग्लेन फिलिप्सले ३९,विल योंगले २६ र चाड बोविसले १४ रन जोडे ।

श्रीलंकाका लागि चामिका करुणारत्नेले चार, लाहिरु कुमारा र कसुन रजिथाले समान दुई तथा दासुन शनका र दिलशान मधुशनकाले समान एक विकेट लिए ।