ललितपुर मेयर्स कप

लगातार तेस्रो जित निकाल्दै एपिएफ फाइनलमा

काठमाडौं । कोशी प्रदेशलाई सात विकेटले पराजित गर्दै विभागीय टोली नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि जारी राखेको छ ।

यस जितसँगै तीन खेलमा ६ अंक जोडेकाे एपिएफले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेकाे छ । पहिलो पराजय ब्यहोरेको कोशीको दुई खेलबाट दुई अंक छ ।

यसअघि एपिएफले मधेस प्रदेशलाई १० विकेट तथा सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको थियो । कोशीले ललितपुर मेयर्स-११ लाई सात विकेटले हराएको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा कोशीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य एपिएफले १८.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

एपिएफका लागि ममता चौधरीले अविजित २१, कप्तान सीता राना मगरले १९, इन्दु वर्माले १८, रोमा थापाले अविजित ११ र ज्योति पाण्डेले ११ रन जोडे ।

कोशीका लागि कप्तान रुबिना क्षेत्री, अलिशा खडिया र निशा शाहले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओरभमा पाँच विकेट गुमाउँदै ८७ रनको योगफल तयार पारेको थियो ।

कोशीका लागि काजोल श्रेष्ठले २९,रुबिना क्षेत्रीले २४ र अप्सरी बेगमले २२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफका लागि सीता राना मगरले तीन तथा इन्दु वर्माले एक विकेट लिए ।