ललितपुर मेयर्स कप

कोशीले दियो एपिएफलाई ८८ रनको लक्ष्य

काठमाडौं । कोशी प्रदेशले ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबसामू  ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओरभमा पाँच विकेट गुमाउँदै ८७ रनको योगफल तयार पारेको थियो ।

कोशीका लागि काजोल श्रेष्ठले २९, कप्तान रुबिना क्षेत्रीले २४ र अप्सरी बेगमले २२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफका लागि कप्तान सीता राना मगरले तीन तथा इन्दु वर्माले एक विकेट लिए ।

एपिएफ लगातार तेस्रो तथा कोशी दोस्रो जितको खोजीमा छन् । यसअघि एपिएफले मधेस प्रदेशलाई १० विकेट तथा सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको थियो । कोशीले ललितपुर मेयर्स-११ लाई सात विकेटले हराएको थियो ।