नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा देशाई नियुक्त

काठमाडौं । भारतका  मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

क्यानले सोमबार औपचारिक रुपमा देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । क्यान र देशाईबीच दुई वर्षको साम्झौता भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देशाईलाई सार्वजनिक गरेको हो । आधिकारिक रुपमा प्रशिक्षक नियुक्तको घोषणा हुनुअघि नै देशाईले नेपाली टोलीको प्रशिक्षण सम्हाली सकेका थिए ।

देशाईले सन् २०१७ मा नेपाली यु–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीका ब्याटिङ कन्सल्ट्यान्ट भएका थिए । त्यस भन्दा अगाडी देशाईले सन् २०१४ को आइसिसी ट्वान्ट–२० विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टोलीका लागि काम गरेका थिए ।

क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका पाँच प्रशिक्षकको अन्तरवार्ता लिएको थियो । मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए ।

मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहिन थियो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता सकिनु अघि नै प्रभाकरले पद छाडेका हुन्।

नेपाली टोली आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-दुई अन्तर्गत घरेलु मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीमा छ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखला आउँदो फागुन दुई गतेदेखि सुरु हुनेछ ।

सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा २४ खेल खेलेको नेपालले आठ जित र १४ हारको नतिजा निकाल्दा एक खेल बराबरी र एक खेल बिना नतिजा टुङ्गिएको छ । नेपाल १८ अंकका साथ छैटौं स्थानमा छ ।

लिगको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलमा ४६ अंक जोड्दा नामिबिया ३० खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा छ । यसैगरी ओमानले (४४),अमेरीका (३५),युएई (२७) र पपुवा न्युगिनी (पाँच)  अंकका साथ दोस्रो, चौथो, पाँचौ र अन्तिम स्थानमा छन्