एनभिए भलिबल च्याम्पियनसिप

लगातार दोस्रो जितसँगै आर्मी क्वाटरफाइनलमा

फाइल तस्बिर

काठमाडौं ।  साबिकको विजेता विजेता त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा सोमबार मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै  विभागीय टोली आर्मीले लगातार दोस्रो जित निकालेको हो ।

आर्मीले खेल २५–११,२५–२० र २५–१४ ले आफ्नो पक्षमा पारेको हो । आर्मीले पहिलो खेलमा दावाली मिलन क्लबलाई हराएको थियो ।

यस जितसँगै समूह ‘ए’को आर्मी दुई खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । 

यसैगरी पुरुषतर्फ नै  हेल्प नेपाल स्पोर्टस क्लब,केशवलाल भलिबल प्रशिक्षण केन्द्र र  विभागीय टोली नेपाल एपिएफ क्लबले विजयी सुआत गरेका छन् ।

हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्ललाई २५–१६,२५–१९ र २५–१९ ले हराँदा केशवलाले मधेश प्रदेशमाथि २५–२१,२५–२३,२७–२९ र २५–१७ जित निकालेको हो । एपिएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–९, २५–१४ र २५–१५  हरायो ।

यसैगरी महिलातर्फ विभागीय टोली  नेपाल पुलिस क्लबले  एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लगातार दोस्रो जित निकालेको छ ।

पुलिसले २५–१५,२५–९ र २५–६ ले खेल आफ्नो पक्षमा पारेको हो । यसअघि पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई हराएको थियो ।

महिलातर्फ नै न्यु डायमन्ड स्पोर्टस युथ क्लबले नयाँ बजार  सामाजिक युवा क्लबलाई २५–२,२५–८ र २५–६ ले विजयी सुरुआत गरेको छ ।

माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिला तर्फ ८ टोलीको सहभागिता रहेको छ ।  पुरुष र महिला दुवैतर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा ९स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक० ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।