नेपाल ओलम्पिक कमिटी

१९ औं एसियाली खेलकुदमा सहभागी सम्मानित

काठमाडौ । नेपाल ओलम्पिक कमिटीले शनिबार विशेष कार्यक्रमबीच चीनको हाङझाय मा भएको १९ औं एसियाली खेलकुदमा सहभागी तथा विजेता खेलाडीलाई सम्मान गरेको छ ।

त्यस अवससमा उनीहरूलाई आयोजकबाट प्राप्त विशेष प्रमाणपत्र पनि प्रदान गरिएको थियो । गत असोज ६ देखि २१ सम्म आयोजित एसियाली खेलकुदमा नेपालबाट २९ खेलका २ सय ५३ खेलाडीको सहभागिता थियो । प्रतियोगितामा नेपालले समान एक रजत तथा कांस्य पदक जितेको थियो ।

करातेकी एरिका गुरुङले महिला ६७ केजी तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । यस्तै महिला कबड्डीमा नेपालले कांस्य पदक प्राप्त गरेको थियो ।

त्यसअघि  कमिटीको १५ औं साधारण सभा सम्पन्न भएको थियो । अध्यक्ष जीवनराम श्रेष्ठले बन्द सत्र सञ्चालन गरेका थिए । त्यस अवसरमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्ष सन् २०२३ को प्रगति विवरण पेस गर्दै त्यस अवसरमा उल्लेखनीय कार्यक्रम गर्न संस्थान सफल रहेको बताए । 

यस्तै कोषाध्यक्ष रतन टण्डनको प्रतिनिधित्व गर्दै कर्मचारी राजन श्रेष्ठले वर्ष सन् २०२३ को आर्थिक विवरण पेस गरेका थिए । उनले अर्को वर्षका लागि अनुमानित बजेट पनि पेस गरे । सभाले दुवै प्रगति तथा आर्थिक विवरणलाई अनुमोदन पनि गरेको थियो । कमिटीअन्तर्गतका विभिन्न कमिसनले पनि आफ्नो कार्य प्रगति तथा योजना पेस गरेका थिए ।

कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद डिगबहादुर लिम्बुले गरेका थिए । कमिटीका महासचिव श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले शुभकामना मन्तब्य दिएका थिए ।

वक्ताहरूले हाङझाउ एसियाली खेलकुदमा नेपालको प्रदर्शनको समीक्षा हुनुपर्ने बताउँदै अबको संस्करणका लागि चाँडै तयारी सुरु गर्नेमा पनि जोड दिएका थिए ।