नेपाल सुपर लिग

ललितपुरको त्यो च्याम्पियन शैली

काठमाडौं । एफसी एसियन कप र फिफा विश्वकपको प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरणअन्तर्गत यमनविरुद्ध नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दा सुरुआती रोजाईमै मैदान उत्रिएका अनन्त तामाङ, दीनेश हेन्जन, सेसेहाङ आङ्दाङबे र अनन्त तामाङ फेरि एक पटक संगै एउटै टोलीमा देखिँदा फुटबल समर्थकले नेपाल सुपर लिग (एनएसएल)को सुरुआती दिनमै भन्न थालेका थिए, ‘ललितपुरको टोली यसपाली राम्रो छ ।’

पहिलो खेलमा बुटवल लुम्बिनीमाथि २–० को जित हासिल गरेपछि ललितपुर सिटी एफसीले सबैको ध्यान आफूतिर तानेको थियो । युवा खेलाडीको बाहुल्यता अनि नाइजेरियन फरवार्ड इमोन इजिकिएल । त्यसमा थपौं फ्रेन्च खेलाडीद्धय गोलकिपर जेफेरी विली मार्सेल फरवार्ड पापा इबो केबे । ललितपुर प्रतियोगिताकै पूर्ण टोली थियो ।

तर, ललितपुरले दोस्रो जित हासिल गर्न पाँचौ खेल कुर्नुपर्यो । बुटवलपछि ललितपुरले तीन खेल बराबरी खेल्यो । पाँचौं खेलमा एफसी चितवनलाई ३–१ ले हराएको ललितपुरले त्यसपछि भएका लिग चरणका चार खेलमा स्पष्ट तीन अंक हासिल गर्न सकेन । जसमा उसले दुई बराबरी र दुई हारको सामना गनुपर्यो ।

तर, खराब लय बावजुद ललितपुर राम्रो गोल भिन्नताका आधारमा प्लेअफ पुग्न सफल भयो । ललितपुरसँगै झापा एफसी र बुटवल लुम्बिनीको समान १० अंक थियो । तर, झापा र बुटवललाई उछिन्दै ललितपुरले शीर्ष चारमा स्थान बनायो । ललितपुरलाई यो यात्रामा उसको भाग्यले पनि निकै साथ दियो । भएको के थियो भन्दा, लिग चरणको अन्तिम दिन पौष ७ शनिबारसम्म चार टोली, साबिक विजेता काठमाडौं रेजर्स, झापा र वीरगंज युनाइटेड एफसीको प्लेअफ पुग्ने सम्भावना उस्तै थियो । वीरगंजको थियो, आठ अंक । दिनको पहिलो खेलमा बुटवललाई पराजित गरे वीरगंजले सोझै प्लेअफमा स्थान बनाउने थियो । तर, भयो के त भन्दा बुटवलले वीरगंजलाई १–० ले स्तब्ध पार्यो ।

समान १० अंक भएतापनि ललितपुर झापाभन्दा अगाडि थियो । ९ अंक जोडेको काठमाडौंको अन्तिम खेल ललितपुरसँग थियो । दिनको दोस्रो खेलमा काठमाडौंसँग पराजित भएपनि ललितपुरले अन्तमा राम्रो गोलभिन्नताका आधारमा इलिमिनेटरमा स्थान बनायो । पोखरा थन्डर्स र धनगढी एफसीले अघिल्लो दिन नै पहिलो क्वालिफायरमा स्थान बनाइसकेका थिए । शनिबारको नतिजासँगै काठमाडौं तेस्रो र ललितपुर चौंथो स्थानमा रहेर इलिमिनेटरमा प्रवेश गर्यो ।

प्ले अफअघिसम्म विपक्षी पोस्टमा मात्र ७ गोल गरेको ललितपुरले बाँकीका तीन नकआउट खेलमा त्यो भन्दा एक गोल बढी गर्यो । जसमा इजिकिएल एक्लैले चार गोल गरे । यसबीच लगातार तेस्रो जित निकाल्दै एनएसएलको नयाँ च्याम्पियन बन्यो । इलिमिनेटरमा काठमाडौंमाथि ३–० को प्रभावशाली जित हासिल गरेको ललितपुरले दोस्रो क्वालिफायरमा पोखरालाई २–१ ले स्तब्ध पार्यो । र शनिबार (हिजो) सम्पन्न फाइनलमा धनगढीलाई ३–२ ले निराश पार्यो ।

ललितपुरको यो च्याम्यिन शैली एकदमै प्रशंसा योग्य छ । प्ले अफका खेल हुनुअघि कागजमा सबैभन्दा कमजोर टोली ललितपुर नै थियो । तर, यसो भनिरहँदा टोलीमा आत्मविश्वासको कमि भने पटक्कै थिएन ।

प्ले अफअघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक इयान एन्ड्रियु गिलनले भनेका थिए, ‘नकआउट खेल हो, जस्ले जित्छ त्यही अगाडि बढ्छ । पछिल्ला खेलमा के भयो त्यसले मतलब राख्दैन । भले हामीबाट गोल निस्किरहेको छैन, प्ले अफमा हामीले गल्तीहरुलाई सुधार्नेछौं । हामी अन्य टोलीभन्दा कमजोर छैनौं ।’

गिलनले सम्मेलनमा भनेका कुरा मैदानमा देखियो । उनले भनेजस्तै गल्तीहरु सच्चीए । गोलहरु निस्किए । ललितपुरले प्रभावशाली जित हासिल गर्यो । जुन एकदमै तारिफ योग्य रह्यो । तीनवटै खेल एकदमै रोचक रह्यो । इलिमिनेटरमा इतिहासमै पहिलो पटक उसले बालगोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौंलाई हरायो ।

दोस्रो क्वालिफायरमा ललितपुरले १० खेलाडीमा समेटिएको अवस्थामा फाइनलको यात्रा तय गर्यो । पहिलो हाफ सकिन १० मिनेट बाँकी छँदा भारतीय मूलका निखिल कदम दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । तर, कप्तान अनन्त तामाङको प्रेरणादायी नेतृत्वले ललितपुरले पोखराविरुद्ध बाजी मार्यो ।

फाइनलमा ललितपुरले पुनरागमन जित हासिल गर्यो । आफिज ओलावालेको गोलमा धनगढीले पहिलो हाफ सकिन आठ मिनेट बाँकी छँदा सुरुआती अग्रता लिएको थियो । तर, दोस्रो हाफको १३औं मिनेटसम्म ललितपुर तीन गोल गर्न सफल रह्यो । यो जित किन पनि खास छ भने, धनगढीले फाइनलका लागि चार दिनको आराम पाउँदा ललितपुर दिन बिराएर मैदानमा उत्रिएको थियो ।

ललितपुरको यो च्याम्पियन शैलीले फ्रेन्चाइज फुटबलको विशेषता अझ छर्लङ्ग पारिदिएको छ । नेपाली फ्रेन्चाइज फुटबलमा ललितपुर च्याम्पियन बन्न सफल यस संस्करण सदैव याद रहनेछ । खेलका लागि मात्र नभएर समर्थकलाई मैदानमा ल्याउन पनि ललितपुरले एकदमै बल दिएको थियो । लिग चरणमा ललितपुरले प्रायः खेलहरुमा निशुल्क टिकट वितरण गरेको थियो । फलस्वरुप हजारौं दर्शक ललितपुरको समर्थनमा रंगशाला ओइरिएका थिए ।

फ्रेन्चाइज फुटबल आफैंमा एउटा रमाइलो प्रतियोगिता हो, त्यसमा ललितपुरको च्याम्पियन शैलीले थप उत्साह थपेको छ ।