राष्ट्रिय खेलकुद परिषद्

एसियाली खेलकुदका लागि राखेप र ब्लु क्रसबीच सम्झौता

काठमाडौं । चीनको हाङझावमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको मेडिकल पार्नरका रूपमा ब्लु क्रस अस्पताल जोडिएको छ ।

एसियाली खेलकुदमा सहभागी टोलीका सदस्यलाई स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र ब्लु क्रस हस्पिटल प्रालिबीच आइतबार सम्झौता भएको हो ।

राखेपका तालिम तथा प्रशिक्षण विभागका प्रमुख एवं १९औं एसियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र ब्लु क्रसकी वित्तिय तथा प्रशासनिक निर्देशक सतिदेवी गौतम सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार ब्लु क्रस हस्पिटलले सहुलियत दरमा एसियाली खेलकुदमा सहभागी टोलीका सदस्यलाई उपचार सेवा उपलब्ध गराउने छ । यो सम्झौता नोभेम्बर ८ सम्म कायम रहने छ ।

कार्यक्रममा प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख दोबे तामाङ, ब्लु क्रसका श्रीप्रसाद तिवारी र सन्ध्या केसी लगायतको उपस्थिति थियो ।