एएफसी फुटसल एसियन कप छनोट

बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक

काठमाडौं । गौरव बस्नेत राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले बस्नेतलाई एसियाली फुटबल महासंघ(एएफसी) फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

त्यस्तै एन्फाले सहायक प्रशिक्षकको जिम्मेवारी थम्मन भुसाललाई दिएको छ ।

छनोटको समूह समूह‘ डी’ मा नेपालसहित भियतनाम, दक्षिण कोरिया र मंगोलिया छन् । यो समूहका खेलहरु आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मंगोलियामा हुनेछ ।

छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कपका लागि छानिने छन् । त्यस्तै सात उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा स्थान बनाउने छन् ।

एन्फाले प्रतियोगिता सुरु हुन दुई महिना बाँकी रहेको समयमा प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्ति गरेको हो । सोमबार महासचिव किरण राईले बस्नेत र भुसाललाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।

बस्नेतले यसअघि किर्गिस्तानमा भएको २०२२ एएफसी फुटसल कप छनोटमा पनि नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए । त्यतिबेला नेपाल जितविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।