कुस्ती

नेपाली कुस्ती टोलीले भारतमा प्रशिक्षण गर्ने

काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।

४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।

भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी)  ले नेपालको प्रतिनिधित्व गर्नेछन् । 

 

१३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।

टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने  प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।

खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।