शारीरिक सुगठन प्रतियोगिता

स्वर्ण पदक विजेता ललित स्वदेश फर्किए

काठमाडौं । माल्दिभ्सको मालेमा भएको १३ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण पदक विजेता ललित धिमाल सोमबार स्वदेश फर्किएका छन् ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ, काठमाडौं जिल्ला शारीरिक सुगठन संघ, विभिन्न क्लबका प्रतिनिधि, खेलाडी, प्रशिक्षक लगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ललितलाई बाजागाजासहित भब्य स्वागत गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् ( राखेप)का सदस्यसचिव टंकलाल घिसिङले ललितलाई भेटेरै बधाई दिएका छन् ।

असार २० देखि २४ गतेसम्म भएको प्रतियोगितामा ललितले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । मिस्टर हिमालय उपाधि विजेता ललितको स्पर्धामा ६ खेलाडी सहभागी थिए । आफ्नो स्पर्धामा स्वर्ण जितेका ललितले ओभरअल च्याम्पियनमा दक्षिण एशियाको उपाधिको लागि पनि प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । ओभरअलमा भारतीय खेलाडी च्याम्पियन बने ।

दक्षिण एशियाली शारीरिक सुगठनकै दौरान भएको प्रथम माल्दिभ्स अन्तराष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भने ललित १० औं स्थानमा रहे । खुला तौलसमूहको प्रतिस्पर्धामा १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इरानका खेलाडीले बाजी मार्दै ५ हजार अमेरिकी डलर जिते ।

प्रतियोगिताको अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास थिए । प्रतियोगितामा दिनेश श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।