इङ्लिस प्रिमियर लिग

अहिलेकै टोलीमा विश्वास छः क्लोप

लन्डन । लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले अहिलेको टोलीप्रति विश्वस्त रहेकाले तत्काल नयाँ खेलाडी भित्राउने सम्भावना नरहेको बताएका छन ।

इङ्लिस प्रिमियर लिगमा जारी सिजन स्वभाविक लयबाट निकै टाढा रहेको लिभरपुल शनिबार ब्राइनटसँग ३-० ले निराश भएको थियो । जुन खेलको प्रदर्शनलाई क्लोपले आफुले क्लब प्रशिक्षण सम्हालेदेखिकै अहिलेसम्मै खराब प्रदर्शको संज्ञा दिएका थिए ।

गत सिजन एफए कप र इङ्लिस लिग कपको उपाधि जितेको लिभरपुल प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग पछि परेको थियो भने च्याम्पियन्स लिग फाइनलमा रियाल मड्रिडसँग पराजित भएको थियो ।

प्रिमियर लिगमा १८ खेलमा २८ अंक जोडेको लिभरपुल नवौं स्थानमा छ । जुन तेस्रो स्थानको न्युक्यासल युनाइटेड र चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १० अंक कम हो ।
लिभरपुलले गत महिना मात्र नेदरल्यान्ड्सका कोडी गाक्पोलाई भित्राएको थियो । क्लोप यस सिजन टोली थप खेलाडी अनुबन्ध गर्ने पक्षमा छैनन ।

‘टोलीले लय गुमाएकै हो तर पनि मलाई मेरा खेलाडीप्रति अझ विश्वास छ,' क्लोपले भने, 'अहिले नै हामी नयाँ खेलाडी भित्राउने पक्षमा छैनौ । सबै खेलाडीले टोलीको रणनिती बुझ्दै आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न आवश्यक छ ।’

लिभरपुल पछिल्लो तीन खेलमा जितविहिन रहँदै आएको छ । लिभरपुल एफए कपको तेस्रो चरणमा वुल्भ्ससँग २-२ को बराबरीमा रोकिएको थियो । यी दुई टोलीबीचको खेल बुधबार पुनः खेलाइनेछ ।