एसी मिलान

लियो र बेनेसरले सम्झौता नविकरण गर्ने माल्डिनीको विश्वास

काठमाडौं । इटालियन सिरी ए को क्लब एसी मिलानका प्राविधिक निर्देशक पाओलो माल्डिनीले राफेल लियो र इस्माइल बेनेसरले क्लबसँग सम्झौता नविकरण गर्ने विश्वास लिएको बताएका छन् ।

पोर्चुगलका स्ट्राइकर लियोलाई भित्र्याउन लिभरपुल,चेल्सी,बार्सिलोना,रियाल मड्रिड,म्यानचेस्टर सिटी लगायतका शीर्ष क्लबले चासो देखाइरहेका छन् । 
 

२३ वर्षिय लियो र क्लबबीचको सम्झौता सन् २०२४ सम्म छ तर  माल्डिनीले लियोसँगको सम्झौता नविकरणको प्रक्रिया अन्तिम चरणमा पुगेका बताएका छन् ।  

‘हामी व्यक्तिगत रुपमा भेटेर तथा फोन कलमार्फत कुरा गरिरहेका छौं । हामी सहमती नजिक छौं’ माल्डिनीले भने‘दुवै पक्ष सम्झौतालाई जारी राख्ने पक्षमा देखिएका छन् । यो चाँडै नै टुङ्गो लाग्नेछ ।’

यसैगरी २५ वर्षिय अल्जेरियन रक्षक बेनेसर र मिलानबीचको सम्झौता पनि सन् २०२४ सम्म छ । बेनेसर अनुबन्धका लागि आर्सनल लिभरपुल लगायतका क्लबले इच्छा देखाएका छन् ।

‘बेनेसर टोलीका महत्वपूर्ण सदस्य हुन् । हामी उनीसँग पनि सम्झौता नविकरण गर्न नजिक छौं’ माल्डिनीले भने‘ बेनेसरले क्लबमै रहने संकेत दिएका छन् । एक–दुई दिनमा प्रक्रिया पूरा हुनेमा विश्वस्त छु ।’

बेनेसर सन् २०१९ मा सरी ए को अर्को क्लब इम्पोली तथा राफेल  सन् २०१९ मै फ्रेन्च लिग वानकाे क्लब लिलीबाट मिलान भित्रिएका थिए ।