इङ्लिस प्रिमियर लिग

आर्सनलसँग दुरी घटाउँदै सिटी

लन्डन । रियाद महारेजको गोलमा चेल्सीमाथि १-० को जितसहित म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंकदुरी पाँच अंकमा झारेको छ ।

पछिल्लो खेलमा एभर्टनसँग बराबरीमा रोकिएसँगै सिटीले आर्सनलसँगको दुरी घटाउने अवसर गुमाएको थियो ।

६३औं मिनेटमा महारेजले गरेको गोल सिटीको जितमा पर्याप्त बन्यो । उनी ६०औं मिनेटमा बर्नाडो सिल्भाको स्थानमा मैदान प्रवेश गरेका थिए । मैदान प्रवेश गरेको तीन मिनेटमै उनी गोल खाता खोल्न सफल भएका हुन् ।

सिटी १७ खेलमा ३९ अंकसहित दोस्रो स्थानमा छ । समान खेलमा ४४ अंक बटुलेको आर्सनल शीर्ष स्थानमा छ । तेस्रो र चौथो स्थानको न्युक्यासल युनाइटेड र म्यानचेस्टर युनाइटेडको ३५ अंक छ । पाँचौ स्थानको टोटनहमको भने ३२ अंक छ । चेल्सी १७ खेलमा २५ अंकसहित १०औं स्थानमा छ ।