इङ्लिस प्रिमियर लिग

टोटनहमको सहज जित, नटिङघमको लय कायमै

लन्डन । ह्यारी केनको दुई गोलमद्दतमा टोटनहमले इङलिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ४-० को सहज जित निकालेको छ ।

४८औं मिनेटमा केनको गोलमा टोटनहमले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि नै केनले टोटनहमको अग्रता दोब्बर पारेका थिए । 

६८औं मिनेटमा म्याट डोहेट्रीले टोटनहमका लागि तेस्रो गोल गरेका थिए । त्यसको चार मिनेटपछि नै सन ह्युङ मिनले टोटनहमका लागि चौथो गोल गरे ।

कतार विश्वकप २०२२ को विश्रामपछि टोटनहमले निकालेको यो पहिलो जित हो । टोटनहम १८ खेलमा ३३ अंकसहित पाँचौ स्थानमा छ । जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा दुई अंक कम हो । युनाइटेडले टोटनहमभन्दा एक खेल कम खेलेको छ ।

त्यस्तै नटिङघम फरेस्टले प्रिमियर लिगको हैसियत कायम राख्ने सम्भावना बढाएको छ । नटिङघमले साउथहमटनलाई १–० ले हरायो ।

नटिङघम १८ खेलमा १७ अंक जोड्दै १८औं बाट १५औं स्थानमा उक्लिएको छ ।

बुधबार सम्पन्न अन्य खेलमा लिड्स युनाइटेड र वेस्ट हमले २-२ तथा उल्भरहमटन र एस्टन भिल्लाले १-१ को बराबरी खेल्यो ।