नेपाली फुटबल

मनाङ छाडेका पुजन मछिन्द्र पुगे

काठमाडौं । डिफेन्सिभ मिडफिल्डर पुजन उपरकोटी मछिन्द्र फुटबल क्लबबाट आहा रारा पोखरा गोल्डकप खेल्ने भएका छन् । शुक्रबार मनाङ मर्स्याङ्दी क्लब छोडेको घोषणा गरेका पुजन साविक सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब पुगेका हुन् ।

राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य पुजनले पछिल्लो दुई संस्करण मनाङ मस्र्याङ्दी क्लबबाट शीर्ष डिभिजन लिग खेलेका थिए । यसैगरी राष्ट्रिय टोलीका सदस्य प्रशान्त अवस्थी समेत मछिन्द्र पुगेका छन् । प्रशान्तले ‘ए’ डिभिजन लिग सातदोबाटो युथ क्लबबाट खेलेका थिए ।

मछिन्द्रले केहिसमय पछि चर्च ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दैछ । मछिन्द्रले बाई पाएर सिधै क्वार्टरफाइनल खेल खेल्न लागेको हो । चर्च ब्वाइजले नेपाल पुलिसलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो ।

मछिन्द्रले चर्चविरुद्ध खेल्न सुरुवाती एघार समेत सार्वजनिक गरेको छ । गोलरक्षकमा विशाल श्रेष्ठ यथावत रहँदा रक्षक पदम भट्टराई, मिडफिल्डरद्वय सिमन्त थापा तथा शिशिर लेखी र स्ट्राइकर रितिक खड्काले मछिन्द्रबाट डेब्यु गर्दैछन् । यसैगरी नयाँ अनुहारमा गगनदीप सिंह छन् । राष्ट्रिय टोलीका विमल घर्तिमगर, देवेन्द्र तामाङ र सुजल श्रेष्ठसँगै  छिरिङ गुरुङ टोलीमा समावेश छन् ।

यता, चर्च ब्वाइजमा अन्जन विष्ट, अनन्त तामाङ, दीेनेश राजवंशी, तेज तामाङ, एरिक विष्ट तथा आशिष चौधरी लगायत खेलाडी रहेका छन् ।  प्रतियोगिताअन्तर्गत शनिबार जित निकाल्दै शसस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ ।