इङ्लिस प्रिमियर लिग

शीर्ष स्थानमा आर्सनलको फराकिलो अग्रता

लन्डन । इडी एनकेइटाले यस सिजन पहिलो रोजाईमा स्थान बनाउँदै गोल गरेको दिन आर्सनलले सोमबार इङ्लिस प्रिमियर लिगमा वेस्ट हममाथि ३-१ को पुनरागमन जितसहित शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ ।

पहिलो हाफबाटै वेस्ट हमलाई दबाबमा राखे पनि आर्सनलले गोल खाता खोल्न सको थिएन । २७औं मिनेटमा सेड बेनरामाको पेनाल्टी गोलमा वेस्ट हमले अग्रता लिएको थियो ।

५३औं मिनेटमा बुकायो साकाको गोलमा आर्सनल खेलमा फर्किएको थियो । त्यसको पाँच मिनेटपछि नै गार्बियल मार्टिलिनीले आर्सनललाई अग्रता दिलाएका थिए  ।६९औं मिनेटमा एनकेइटाले आर्सनलका लागि तेस्रो गोल गरे ।

घरेलु मैदान इमिरेट्समा आर्सनलको यो लगातार १०औं जित हो ।

आर्सनल १५ खेलमा ४० अंकसहित शीर्ष स्थानमा छ ।  दोस्रो स्थानको न्युक्यासल युनाइटेडको समान खेलमा ३३ अंक छ भने तेस्रो स्थानको म्यानचेस्टर सिटीको ३२ अंक छ ।  सिटीले एक खेल कम खेलेको छ ।

कतार विश्वकप २०२२ को विश्रामपछि सोमबारबाट सुरु भएको प्रिपियर लिगमा लिभरपुलले एस्टन भिल्लालाई ३-१ ले हरायो भने फुलहमले क्रिस्टल प्यालेसलाई ३-० र न्युक्यासल युनाइटेडले लेस्टर सिटीलाई ३-० ले पराजित गर्यो ।