जाभी हर्नान्डेज

गाभी र पेड्री उत्कृष्ट युवा मिडफिल्डर हुनः जाभी

बार्सिलोना । स्पेनिस ला लिगाको क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले युवा  मिडफिल्डर गाभी र पेड्री २० वर्षको उमेरमा क्लबका महान् खेलाडी आन्द्रे इनिएस्टा र आफुभन्दा उत्कृष्ट रहेको बताएका छन ।

कतार विश्वकप २०२२ मा स्पेनले खेलेका चारवटै खेलेमा पहिलो रोजाइमा मौका पाएका गाभी र पेड्रीले बार्सिलोनाका लागि पनि उत्कृष्ट प्रर्दशन गरिरहेका छन ।

मोरोक्कोसँग पराजित भएपछि स्पेन विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको थियो ।

‘म र इनिएस्टा २० वर्षको उमेरमा गाभी र पेड्रीको स्तरमा थिएनौं’,जाभीले भने‘हामीसँग उनीहरुको जस्तो गति र जोश थिएन । त्यसैले मेरो विचारमा उनीहरु क्लब इतिहासकै उत्कृष्ट युवा मिडफिल्डर हुन। ’

हाल ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १४ खेलमा ३७ अंक जोडेको छ । यो दोस्रो स्थानको रियाल मड्रिडभन्दा दुई अंक बढी हो ।

गस सिजन बार्सिलोनाले रोर्बट लेवान्डोस्की,राफिन्हा र जुलेस कुन्डेलाई भित्र्याउन ठूलो रकम खर्चिएको थियो । जाभीले यस सिजन भने क्लबले धेरै रकम खर्च गर्नु नहुने बताएका छन ।

‘मैले क्लबका निर्देशकलाई भनिसकेको छु,यो जनवरी विन्डोमा खेलाडी भ्यिाउन आवश्यक छैन’,जाभीले भने ‘म अहिलेका खेलाडीसँग निकै खुसी छु । यही टोली प्रतिस्पर्धाका लागि तयार छ । हामी आफ्नो शतप्रतिशत दिएर खेल्ने छौं ।’