पिएसजी

च्याम्पियन्स लिगमा पनि एमबाप्पे र मेसीको जादुको प्रतिक्षामा पिएसजी


पेरिस । पेरिस सेन्ट जर्मन(पिएसजी) विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका लियोनल मेसी र किलियन एमबाप्पेको लय च्याम्पियन्स लिगमा पनि कायम रहोस् भन्ने चाहन्छ ।

लामो समयदेखी च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यसहित खेलाडी अनुबन्धमा महंगो रकम खर्चिरहेको पिएसजी यस पटक भने मेसी  र एमबाप्पेको लयमा सो उपलब्धी हासिल गर्नेमा विश्वस्त देखिएको छ ।

मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले आइतबार एमबाप्पेको फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै कतार विश्वकप जितेको थियो । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा अन्त्य भएपछि विजेताको टुङगो पेनाल्टी सुटआउटमा लागेको थियो ।

सो खेलमा मेसीले दुई गोल गरेका थिए भने एमबाप्पेले ह्याट्रिक पूरा गरेका थिए । आठ गोलरहित उच्च गोलकर्ता बनेका एमबाप्पे ‘गोल्डेन बुट’ जित्दा सात गोल गरेका मेसीले सर्वोेत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल जिते ।
 पिएसजीले च्याम्पियन्स लिगको  अन्तिम १६ मा जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखविरुद्ध खेल्दैछ । पिएसजी बायर्नमाथि सहज जितसहित उपाधि यात्रामा अघि बढ्ने लक्ष्यमा छ ।

फ्रेन्च लिग वानमा भने पिएएसजीले डिसेम्बर २९ मा स्ट्रार्सबर्गविरुद्ध खेल्नेछ । सो खेलमा मेसी र एमबाप्पे टोलीमा फर्कने वा नफर्कने बारे भने केही बताइएको छैन ।

समाजिक सञ्जालमा पिएसजीले फाइनलमा एकअर्काविरुद्ध लडेका दुवै खेलाडीलाई सर्मथन गर्दे बधाई दिएको थियो । दुवै खेलाडी आफ्नो क्षमताकै कारण विश्वकपको फाइनलमा पुगेको क्लबले जनाएको छ ।