पुरुष फुटबल

विमल, अनन्तसहित एनआरएनए फुटबल टिमका खेलाडीलाई प्रोटेस्ट लाग्ने

पोखरा । नवौं बृहत राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा गैह्रआवासीय नेपाली संघ (एनआएनए)का खेलाडीमाथि परेको प्रोटेस्टमा कारबाही हुने भएको छ । नेपाली राष्ट्रिय टिमका नियमित सदस्यहरु विमल घर्तीमगर, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोग राई, विशाल राई, निशान खड्का र अशोक खवासमाथि प्रदेश नम्बर १ ले प्रोटेस्ट हालेको थियो ।

गत बिहीबार प्रदेश नम्बर १ विरुद्धको खेलअघि एनआरएनएको टिममा राष्ट्रिय खेलाडी भएको पाएपछि विवाद भएको थियो । जसका कारण डेढ घण्टा ढिलो सुरु हुँदा दुवै हाफ ३५–३५ मिनेटमा घटाइएको खेलमा एनआरएनए २–० ले विजयी भएको थियो । एनआरएनएका लागि विमल र संजोगले एक–एक गोल गरेका थिए ।

यो पनि: एनआरएनएको टिमविरुद्ध प्रदेश १ ले हाल्यो प्रोटेस्ट

सोही खेलअघि प्रदेश नम्बर १ ले खेल्न नमानेको थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाले खेलपछि प्रोटेस्ट हाल्न सक्ने बताएपछि खेल भएको थियो ।

खेलसकिने बित्तिकै प्रदेश नम्बर १ ले हालेको प्रोटेस्टमा कारबाही हुने र खेलाडीले बाँकी खेल खेल्न नपाउने स्रोतले खेलाडी डटकमलाई जानकारी दिएको छ ।

‘राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यविधि अनुसार ती खेलाडीलाई प्रोटेस्ट लाग्ने देखिन्छ,’ स्रोतले भन्यो, ‘हामी यो निर्णय दिउँसो निर्णय औपचारिकरुपमा सार्वजनिक गर्नेछौं । फुटबलका प्राविधिसँग सल्लाह गरेर फिफाको निर्णय अनुसार खेलको नतिजा के हुन्छ ? त्यसै अनुसार फुटबल अगाडि बढ्छ ।’