अञ्जन विष्ट

'यो खेल मात्रै थिएन'

काठमाडौं । ‘यो खेल मात्रै थिएन....’ लामो पज लिएपछि बंगलादेशविरुद्ध ह्याट्रिक गरेका अञ्जन विष्टले पत्रकार सम्मेलनमा भने, ‘धेरैपछि फेरि राष्ट्रको झण्डा छातीमा राखेर खेल्न पाएँ धेरै नै खुशी छु ।’

फिफा डेमा मंगलबार दशरथ रंगशालामा भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल साँच्चै खेल मात्रै थिएन । विशेष गरी अञ्जनसहित तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिमबाट निकालेका खेलाडीका लागि । आफ्नो क्षमता फेरि एक पटक पस्किने, आफ्नो स्तर देखाउने र राष्ट्रिय टिममा फेरि आफूलाई स्थापित गर्ने अवसर पनि यो ।

एएफसी एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहँदा ‘आधारभूत आवश्यकताको माग गर्दा’ तत्कालीन मुख्य प्रशिक्षक अल्मुताइरीले अञ्जनसहित टिमका १० सिनियर खेलाडीलाई बाहिर निकालेका थिए । पछिल्लो समय राष्ट्रिय टिमका नियमित सदस्य रहँदै आएका खेलाडी र उनीहरुको समर्थन गरेका कप्तान किरण चेम्जोङलाई पनि कुवेती प्रशिक्षकले बाहिरै राखेर कतार, त्यसपछि कुवेत भ्रमण गरेका थिए ।

प्रदर्शनका कारण होइन, मैदान बाहिरका गतिविधिले टाढा बनाएका सबै खेलाडी मैदान फर्किन आतुर थिए । अझै पनि आतुर छन् । अब्दुल्लाहले बहाना बनाएर निकालेका खेलाडीलाई मैदान फर्किन उपयोगी साबित भयो बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल । त्यसमा पनि कार्यबाहक प्रशिक्षक बनेर प्रदीप हुमागाईँ आएपछि अब्दुल्लाह र खेलाडीबीचको कलह त्यहीँ टुङ्गिइसकेको थियो ।

सबै खेलाडीले टिममा स्थान बनाएका थिए । यी सबै पृष्ठभूमीको ‘क्लाइम्याक्स’ आज दशरथ रंगशालामा देखियो । अल्मुताइरीले निकाल्दा चिडिएका खेलाडीले उनलाई ‘मु–तोड’ जवाफ फर्काए । र, यो क्लाइम्याक्सका नायक चाही अञ्जन नै बने ।

उनै फुटबलका भोका अञ्जन विष्ट । केही दिनअघि मात्रै अञ्जनले आफू नजिकका खेलकर्मीलाई फुटबल खेल्न नपाएर ‘पागल’ भएको बताएका थिए । नेपाली फुटबलमा मेहेनत, लगनशीलता र इमान्दारिताको पर्याय बनेका अञ्जनले कुनै पनि टिमबाट प्रस्ताव आयो भने बरु पारिश्रमिक नलिएरै खेल्न तयार भएको बताएका थिए ।

भनिन्छ, ‘विष नभएको सर्प र इख नभएको मान्छे’को अस्तित्व हुँदैन । तर, अञ्जनमा इख छ । त्यसैले त उनी एक्स्ट्राअर्डिनरी छन् । बंगलादेशविरुद्ध १९ मिनेटको फरकमा ह्याट्रिक गरेका अञ्जनले आफ्नो इख आज रंगशालामा देखाए ।

‘जीवन भन्नु नै उतर–चढाव हो, मेरो सायद त्यो ओरालो क्षण थियो होला,’ अञ्जनले भने, ‘त्यो मैले एउटा पाठ सिक्ने मौका पाएँ, पाठ सिकेँ पनि ।’

‘मैले भनेँ त... नेपालका लागि जस्तो अवस्थामा पनि फुटबल खेल्छु, यदि नेपालले चाहन्छ भने म सधैँ भरी हुनेछु,’ अञ्जनले भने ।

बंगलादेशविरुद्ध १८, २७ र ३८औं मिनेटमा गोल गर्दै अञ्जन नेपालका लागि ह्याट्रिक गर्ने छैठौं खेलाडी बनेका थिए । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले नेपालका लागि ह्याट्रिक गरेका थिए ।

सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नवयुगले माल्दिभ्सविरुद्धको गरेको नै नेपाली राष्ट्रिय टिमबाट पछिल्लो ह्याट्रिक थियो । करिब ६ वर्षपछि दशरथ रंगशालामा उपस्थित झण्डै ११ हजार दर्शकमाझ अञ्जनले अर्को ह्याट्रिक पस्किए ।

नेपाली फुटबलको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउने इच्छा व्यक्त गरेका अञ्जन दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । उनको लय र उमेर हेर्दा अञ्जनको नाममा नयाँ कीर्तिमान बन्ने दिन धेरै टाढा छ जस्तो लाग्दैन ।

यदि, कुवेती प्रशिक्षक अल्मुताइरीले ननिकालेको भए यो कीर्तिमानी दिन आज हुने सम्भावना पनि रहन्थ्यो । राष्ट्रिय टिमबाट निकालिएपछि अञ्जनले नेपालले खेलेका पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेल गुमाउनु पर्यो । एएफसी एसियन कप छनोटको तेस्रो चरणका तीन खेल र दुई मैत्रीपूर्ण खेलमा अञ्जनले गोल गर्ने क्षमता राख्थे ।

‘फुटबल खेल्न सुरु गर्दा ने मेरो सपना थियो, नेपालको जर्सी लगाएर मैदानमा उत्रिउँ,’ ह्याट्रिक गरेबापत पाएको उपहार– म्याचबल बोकेर बस चढ्दै गर्दा अञ्जनले भने, ‘त्यो सपना पूरा भयो भन्ने सोच्दिन । जबसम्म खेल्न सक्छु, जबसम्म नेपाललाई म चाहिन्छ, तबसम्म म हाजिर हुन्छु ।’

फेरि मैदानमा फर्किँदा कस्तो महसुस भयो ? भन्ने प्रश्नको उत्तर दिँदै अञ्जनले भने– म यो अनुभूती शब्दमा बयान गर्न सक्दिन, धेरैपछि देशको झण्डा छातीमा लगाएर खेल्ने मौका पाएँ । त्यसमै खुशी छु ।’

नेपालका लागि पहिलो हाफमै ह्याट्रिक गर्ने पहिलो खेलाडीसमेत बनेका अञ्जनले ह्याट्रिक र जित आउँदै गरेको दशै–तिहारको शुभ–कामनासहित नेपाली समर्थकलाई समर्पित गरे ।