नेपाली फुटबल

अञ्जनले ह्याट्रिक गर्दा पहिलो हाफमा नेपालको सहज अग्रता

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत बंगलादेशविरुद्धको पहिलो हाफमा नेपालले ३-० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरे ।

खेलको १८औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए । विमल घर्तिमगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिकलाई अञ्जनले हेडर गोल गरे ।

२७औं मिनेटमा अञ्जनले नै नेपालको अग्रता दोब्बर पारे ।

विशाल राईले राइड साइडबाट गरेको क्रसमा विमलले पेनाल्टी क्षेत्रमा तेज तामाङलाई बल मिलाइदिए । सोही बलमा तेजको प्रहार बंगलादेशी गोलकिपर अनुसुर रहमानबाट रिबाउन्ड आएको बललाई अञ्जनले १८ यार्ड बक्सभित्रबाट सहजै जालीको दिशा दिए ।

यस्तै, ३८औं मिनेटमा अञ्जनले ह्याट्रिक गर्दै नेपाललाई ३-० को अवस्थामा पूर्याए । विशाल राईले प्रहार गरेको फ्रिकिकमा अञ्जनले पेनाल्टी क्षेत्रमा हेडर गोल गरे ।

खेलमा बंगलादेशले केही अवसर बनाए पनि त्यसको सदुपयोग गर्न सकेन ।

कप्तान जमल भुयानले १७औं मिनेटमा करिब २२ यार्ड परबबाट गरेको प्रहार लेफ्ट बारमा लागेर बाहिरियो ।

खेलमा ह्याट्रिक गरेका अञ्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो ।