इङल्यान्ड

टोनी पहिलो पटक इङल्यान्डको राष्ट्रिय टोलीमा

लन्डन । इङल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले युइएफए नेसन्स लिगका लागि घोषणा गरेको टोलीमा इभान टोनीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा डिन हेन्डरसन र इरिक डायरले टोलीमा पुनरागमन गरेका छन् ।

यस सिजन ब्रेन्टफोर्डबाट गरेको उत्कृष्ट प्रदर्शनकै आधारमा टोनीले इङल्यान्ड राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । उनले प्रिमियर लिगको पछिल्लो ६ खेलमा पाँच गोल गरेका छन् ।

‘हामीले लामो सयमदेखी इभान टोनीको खेल हेरिरहेका थियौ’,साउथगेटले भने, ‘उनको उत्कृष्ट लयकै कारण हामीले उनलाई टोलीमा बोलाएका हौ । उनी निकै क्षमतावान खेलाडी हुन् ।’

टोटनहमका रक्षक डायर १८ महिनापछि इङल्यान्ड टोलीमा फर्किएका हुन् । जोर्डान पिंकफोर्डको चोटका कारण हेन्डरसनले पनि टोलीमा पुनरागमनको अवसर पाएका हुन् ।

इङल्यान्डले सेप्टेम्बर २३ मा इटाली र २६ मा जर्मनीको सामना गर्नेछ । नेसन्स कपको ग्रुप ए थ्रीमा २ अंक मात्र जोडेको इङल्यान्ड अंक तालिकाको अन्तिम स्थानमा छ ।