इटालियन सिरी ए

मिलान रोकियो, रोमाको लय कायमै

मिलान । साविकको विजेता एसी मिलान सासौलोसँग गोलरहित बराबरीमा रोकिएको दिन मंगलबार एएस रोमाले भने मोन्जालाई ३-० ले हराउँदै जारी सिजन इटालियन सिरी ‘ए’ मा आफ्नो उत्कृष्ट लय कायम राखेको छ ।

युडिनेसीलाई हराउँदै उपाधि रक्षाको सुखद सुरुआत गरेको मिलान दोस्रो खेलमा एट्लान्टासँग बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा भने मिलानले बोलोग्नालाई हराएको थियो ।

चार खेलमा रोमा १० अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको इन्टरको ९ र तेस्रो स्थानको मिलानको ८ अंक रहेको छ । 

रोमाको जितमा पाबलो डिबालाले दुई र रोजर इभानेजले समान एक गोल गरे ।

त्यस्तै इन्टर मिलानले भने क्रिमोनिसलाई ३-१ ले हराएको छ । इन्टरको जितमा निकोला बरेल्ला, ज्याक्विन कोरिया र लौटारको मार्टिनेजले समान एक गोल गरे । क्रिमोनिसका डेविड ओकिरेकीले सान्त्वना एक गोल गरे ।