इङ्लिस प्रिमियर लिग

चेल्सीको दोस्रो हार

लन्डन । रोमियो लाभिया र एडम आर्मस्ट्रोङको समान एक गोलमा साउथहमटनले मंगलबार चेल्सीलाई २-१ ले निराश पारेको छ ।

इङलिस प्रिमियर लिगको जारी सिजनमा चेल्सीले पछिल्लो तीन खेलमा व्यहोरेको यो दोस्रो हार हो ।

२३औं मिनेटमा मेसन माउन्टको पासमा रहिम स्टर्लिङले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । तर चेल्सीले आफ्नो अग्रता लामो समयसम्म टिकाउन सकेन । त्यसको पाँच मिनेटपछि नै लाभियाले साउथहमटनलाई खेलमा फर्काएका थिए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा एडमले साउथहटमनका लागि दोस्रो गोल गरे । जुन गोल साउथहमटनलाई सिजनको दोस्रो जित निकाल्न पर्याप्त बन्यो ।

एभर्टनमाथि जितसहित लिगमा सुखद सुरआत गरेको चेल्सी दोस्रो खेलमा टोटनहमसँग बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा भने चेल्सीले लिड्स युनाइटेडलाई नतिजा सुम्पिएको थियो ।

‘जारी सिजन टोलीले स्वभाविक लय भेट्टाउन सकेको छैन,’ चेल्सीका प्रशिक्षक थोमस टुकलले भने, ‘आशा आगमी खेलमा टोलीले लय अनरुपको प्रदर्शनका साथ सुखद नतिजा ल्याउछ ।’

प्रिमियर लिगअन्तर्गत मंगलबार सम्पन्न अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हराउँदा लिड्स युनाइटेड र एभर्टनले १-१ को बराबरी खेले । त्यस्तै क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले पनि १-१ को बराबरी खेल्दै अंक बाँडे ।