इङ्लिस प्रिमियर लिग

सिटीको जितमा हाल्यान्डको ह्याट्रिक

लन्डन । एर्लिङ हाल्यान्डको ह्याट्रिकप्रेरित सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टर प्यालेसमाथि ४–२ को जित दर्ता गरेको छ । सिटीले २–० ले पछि परेको अवस्थालाई उल्ट्याउदै पुनरामनमा जित निकालेको हो ।

सिटीको जितमा हाल्यान्डले ह्याट्रिक गर्दा बर्नार्डो सिल्भाले एक गोल गरे ।

घरेलु मैदानमा इतिहाद रंगशालामा सिटी खेलको २१औं मिनेटमै २–० ले पछि परेको थियो । चौथो मिनेटमा जोन स्टोनसबाट आत्मघाती गोल उपहार पाएपछि अग्रता बनाएको प्यालेसका जोचिम एन्डरसनले २१औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

तर, ५३औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै प्यालेसको अग्रतालाई २–१ मा झारेका थिए । त्यसको नौ मिनेटपछि हाल्यान्डले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए । ७०औं मिनेटमा हाल्यान्डको व्यक्तिगत दोस्रो गोलमा सिटीले ३–२ को अग्रता बनायो । यस्तै, ८१औं मिनेटमा हाल्यान्डले ह्याट्रिक गर्दै सिटीलाई ४–२ को अवस्थामा पुर्याएका थिए ।

लिगमा अपराजित रहेका सिटीको यो तेस्रो जित हो । जितसँगै चार खेलबाट १० अंक जोडेको सिटी तालिकाको शीर्ष स्थानमा छ । यस्तै, समान खेलबाट चार अंक जोडेको प्यालेस तालिकाको १३औं स्थानमा छ ।