नेपाली फुटबल

‘एन्फाले देखाएको विश्वासप्रति कृतज्ञ छु’– अन्तरिम प्रशिक्षक हुमागाँई

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षणको जिम्मेवारी पाएका प्रशिक्षक प्रदीप हुमागाँईले आफ्नो लागि यो एक अवसर भएको बताएका छन् ।

बिहीबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अन्तरिम प्रशिक्षक हुमागाँईले एन्फाले आफूलाई देखाएको विश्वासप्रति कृतज्ञ रहेकोसमेत बताए ।

‘एन्फाले मलाई विश्वास गरेर राष्ट्रिय टिमको जिम्मेवारी दिएको छ । यसका लागि कृतज्ञ छु । प्रशिक्षणका लागि हेर्दा धेरै दिन भए पनि लामो समयदेखि नेपालमा फुटबल गतिविधिहरु भएको छैन,’ प्रशिक्षक हुमागाँईले भने, ‘मैत्रीपूर्ण मात्र नभई जितका लागि तयारी गर्नेछौं । मेरो लागि यो एउटा अवसर हो । कुनै दबाब महसुस गरेको छैन । तर, केही चाडो र अच्चम्मित रुपमा आएको अवसर हो । यद्यपि, म यसका लागि पहिलेदेखि नै तयार थिए ।’

उनले जितका लागि कर्मभूमी छोडेर जन्मभूमी आएको बताए । उनले नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीहरुबीच रहेको विवादका बारेमा आफू बोल्न आवश्यक नरहेको बताए ।

उनले हरेक बुधबार आउन पत्रकारहरुलाई प्रशिक्षणमा आउन र खेलाडीसँग कुराकानीका लागि छुट रहेको बताए । यस्तै उनले सेप्टेम्बर एक देखि समर्थकहरुलाई पनि प्रशिक्षण हेर्न आउन आग्रह गरे ।

प्रशिक्षक हुमागाँईसँग एएफसी ‘ए’ लाइसेन्स छ ।

यस्तै, एन्फाका प्रवक्ता सुरेस साह मुख्य प्रशिक्षक अल्मुताइरीको विषय समाधानका लागि एन्फा प्रकृयामा रहेको बताए ।

‘एन्फाले उहाँलाई केही प्रश्नहरु गरेको थियो । जसमा उनले आफू स्वस्थ नभएको प्रतिकृया दिएका थिए । उनको विषय समाधानका लागि एन्फाले महासचिव किरण राईलाई जिम्मेवारी सुम्पिएको छ । उनको विषय समाधानका लागि प्रकृयामा छौं । छानविन समितिको प्रतिवेदनमा कार्यसमितिले त्यसको अध्ययन गरेका आवश्यक प्रकृया अघि बढाउनेछ,’ प्रवक्ता साहले भने ।

नेपालले आगामी असोज ११ गते घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।