यु २० साफ च्याम्पियनसिप

यु २० साफः लज्जास्पद हारसँगै नेपालको सम्भावना कमजोर

भुवनेश्वर । यु २० साफ च्याम्पियनसिपमा घरेलु टिम भारतसँग लज्जास्पद हार बेहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्युन बनेको छ । आइतबार नेपाली टिमले भारतसँग ८-० को फराकिलो हार बेहोर्यो ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंह लोङटोङबाङ दुई गोल गर्दा, हिमान्सु जङ्ग्रा, टङ्कधर बाग, गुरकिरत सिंह र सुभो पलले एक-एक गोल गरे ।

खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । उनले नेपाली गोलकिपर इश्वर गुरुङले बल समाउन नसक्दा आएको पाएको सुनौलो मौकामा टाइसनले हेडर गोल गरेका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको भारतले दोस्रो सात गोल थप्यो ।

खेलको ५०औं मिनेटमा पार्थिवले भारतको अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि पार्थिवले नै भारतलाई तेस्रो अग्रता दिलाए । ६६औं मिनेटमा टाइसनले चौथो गोल गर्दा ७२औं मिनेटमा हिमान्सुले अग्रतालाई ५-० मा पूर्याए । यस्तै, ७८औं मिनेटमा टंकधरले छैटौं गोल गर्दा निर्धारित समयको अन्तिम मिनेटमा गुरकिरतले सातौं गोल गरे । इन्जुरी समयमा सुभोले भारतको अग्रतालाई ८-० पूर्याए ।

नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । भारतले तीन खेलबाट ६ अंक जोड्यो । समान अंक भए पनि नेपाल गोलआधारमा तालिकाको तेस्रो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशले तीन खेलबाट ९ अंक जोडेको छ । नेपालले अब मंगलबार लिग चरणको अन्तिम खेलमा बंगलादेशको प्रतिस्पर्धा गर्ने छ ।