लिभरपुल

जोटा र एलिसन कम्युनिटी सिल्डबाट बाहिरिए

लन्डन । लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले गोलकिपर एलिसन बेकर र डिएगो जोटाले शनिबार हुने कम्युनिटी सिल्डबाट बाहिरिएको पुष्टि गरेका छन् ।

लिभरपुलले कम्युनिटी सिल्डमा म्यानचेस्टर सिटीविरुद्ध खेल्ने तालिका छ । यसअघि प्रि सिजनमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा पनि एलिसन पेटको चोटका कारण मैदानबाट बाहिरिएका थिए । उक्त खेलमा लिभरपुल ४–० ले पराजित भएको थियो ।

यसअघि पछिल्लो हप्ता क्लोपले एलिसनको कम्युनिटी सिल्ड खेल्ने सम्भावना बारे चर्चा गरेका थिए । तर, अहिले क्लोपले एलिसन टिमबाट बाहिरिएको पुष्टि गरेका हुन् । यद्यपि, उनले एलिसन प्रिमियर लिगसम्म भने उपस्थित भइसक्ने जनाए ।

‘एलिसनले हिजोभन्दा आज बढी समय प्रशिक्षणमा बिताए र फुलहमसँगको खेलमा उपस्थित हुनेछन् । तर, यो हप्ता भने उनी टिमसँग हुनेछैनन्,’ क्लोपले भने ।