पुमास

क्याम्प नोउमा समर्थकमाझ बिदाईको अवसर जुर्योः आल्भेस

मड्रिड । पुमास युएनएमका रक्षक ड्यानी आल्भेसले बार्सिलोनाविरुद्धको मैत्रीपूर्ण खेलसँगै क्याम्प नोउमा समर्थकमाझ बिदाई माग्ने अवसर जुरेको र त्यसका लागि क्लबप्रति अभारी रहेको बताए ।

आल्भेस गत सिजन पुनः बार्सिलोनामा फर्किएका थिए । तर उनको प्रदर्शन अपेक्षा अनुसारको हुन सकेन । गत सिजन उनले ला लिगामा १४ खेल मात्र खेले ।

सिजनको अन्त्यसँगै बार्सिलोनाले उनको सम्झौता नविकरण भने गरेन । शनिबार मात्र मेक्सिकोको क्लब पुमासले आल्भेसलाई अनुबन्ध गरेको बताएको थियो ।

अगस्ट सातमा पुमासले जोन गाम्पर ट्रफीका लागि क्याम्म नोउको भ्रमण गर्नेछ ।यसअघि बार्सिलोनाले एएस रोमासँग खेल्ने तालिका थियो तर जोजे माउरिन्होको टोलीले नखेल्ने बताएपछि पुमासलाई आमन्त्रण गरिएको हो ।

यसअघि आल्भेसले बार्सिलोनालको व्यवहारबाट खुशी नभएको बताएका थिए । अहिले भने उनले क्लबको निर्णय बुझेको बताए ।

‘मेरा लागि क्याम्प नोउमा समर्थकमाझ बिदाइ लिने यो भन्दा सुनौलो अवसर अरु हुनै सक्दैन’, आल्भेसले भने, ‘मैले बार्सिलोनासँग ६ महिनाको मात्र सम्झौता गरेको थिए । त्यसैले मैले धेरै अपेक्षा पनि गरेको थिइन ।’

आल्भेसले सन् २०२२ को कतार विश्वकपका लागि ब्राजिलको टोलीमा स्थान बनाउनकै लागि भए पनि तत्काल नयाँ गन्तब्यको खोजीमा रहेको बताएका थिए ।