यु २० साफ च्याम्पियनसिप

आयुषलाई कप्तानको जिम्मेवारी

काठमाडौं । मिडफिल्डर आयुष घलानले सोमबारबाट भारतमा हुने यु २० साफ च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी सम्हाल्ने भएका छन् ।

१८ वर्षीय युवा खेलाडी आयुशले ‘बी’ डिभिजन लिगबाट सिधै राष्ट्रिय टिममा स्थान बनाएका थिए । उनी एक वर्षदेखि राष्ट्रिय टिमका नियमित सदस्य हुन् ।

राष्ट्रिय टिमबाट खेलेर आयुश पहिलो पटक उमेर समूहको टिममा परेका हुन् । वि.सं २०७८ साल असोज अन्तिम साता भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल २८ वर्षपछि पुग्दा आयुश टिमका महत्वपूर्ण सदस्य थिए ।

वि.सं २०७६ सालमा ‘बी’ डिभिजनमा खुमलटार युथ क्लबबाट खेलेका आयुश पहिलो संस्करणको नेपाल सुपर लिग(एनएसएल) मा पोखरा थन्डर्सबाट खेलेका थिए । क्लबको प्रदर्शन सम्झन लायक नभए पनि सोही प्रतियोगिताबाटै उनी नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नजरमा परेका थिए ।