नेपाल भलिबल संघ

भलिबल संघको निर्वाचन भदौ चौथो साता हुने

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) को केन्द्रिय निर्वाचन भदौ चौथो साता हुने भएको छ ।

बिहीबार भक्तपुरमा बसेको एनभिएको पूर्ण बैठकले भदौ २२ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

‘निर्वाचन २२ भदौमा गर्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक सदस्यले खेलाडीलाई जानकारी दिए ।  

विगत दुई वर्षदेखि कार्यकाल समाप्त भएपनि कोभिड महामारीका कारण संघको निर्वाचन हुन सकेको थिएन । आगामी निर्वाचनमा निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् ।

यस्तै, आजको बैठकले बाग्मती प्रदेशको विवादित विषय टुंग्याउन उपाध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा छानविन समिति बनाएको छ । जसले तीन दिनभित्र प्रतिवेदन तयार पारेर बुझाउनु पर्नेछ ।

यस्तै, आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिगमा अनुशासनहिन कार्य गरेका हेल्प नेपालमा भारतीय दुई खेलाडीलाई एक वर्ष निलम्बन गरेको छ ।