नेपाली फुटबल

एन्फा अध्यक्ष नेम्वाङ अस्वस्थ, कार्यसमिति बैठक अन्योलमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक विरामी परेका छन् ।

साधारणसभाले गत असार ६ गते नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउसो तीन बजे बस्ने तय थियो । तर अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको छ ।

एन्फा महासचिव किरण राईले अध्यक्षको ‘ब्लड प्रेसर’ अचानक बढेर उपचारार्थ मेडीसिटी अस्पताल पुर्याइएको जानकारी गराए । बैठक निर्धारित समयमा हुने विषयमा भने तत्काल केही भन्न नसक्ने उनले बताए ।

‘अध्यक्षज्यु अस्वस्थ हुनुभयो भन्ने सुनेर म पनि अस्पताल जाँदैछु । उहाँको ब्लड प्रेसर अचानक बढेर इसिजी नै गर्नुपर्ने भयो भन्ने खवर आएको छ । उहाँको स्वास्थ्य अवस्थाको मुल्यांकनपछि मात्र बैठकको बारेमा केही भन्न सकिएला,’ राईले खेलाडीसँग भने, ‘स्वास्थ्यजस्तो संवेदनसिल विषयमा सम्झौता गर्ने कुरा हुन्न । तत्काललाई ब्लड प्रेसर बढे पनि गम्भीर समस्या नहोला । भए आजै, नत्र पनि चाँढै बैठक बस्छ ।’

अध्यक्ष नेम्वाङको स्वास्थ्य अवस्थाबारे पूर्ण जानकारी नआएसम्मका लागि बैठकबारे कुनै नयाँ सुचना जारी गरिएको छैन । आज दिउसो तीन बजेको निर्धारित समयमै बैठक गर्न सचिवालय तयारी अवस्थामा रहेको राईले बताए ।

एजेन्डाविना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको यो बैठकलाई नेपाली फुटबल जगतले विशेष चासोका साथ हेरिरहेको छ ।

सुशासनको नारालाई चर्को श्वरमा घन्काएर पंकजविक्रम नेम्वाङको समूहले एन्फाको ताल्चासाँचो हात पारेको थियो । विधि र विधान प्रधान हुने भने पनि नेम्वाङ नेतृत्वमा विधानअनुसार पहिल्यै एजेन्डा पठाएर र सदस्यहरुबाट आएको सुझाव समेत समेटेर गरिन लागेको यो नै पहिलो बैठक हो ।

बैठकका लागि विभिन्न एजेन्डा तय भए पनि आज एन्फा मुख्यालयमा छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ । प्रमूख कार्यकारी अधिकृत (सिइओ), तीन सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल होइन चर्काचर्की हुने निश्चित रहेको कार्यसमितिका एक सदस्य बताउँछन् ।

चुनावमा जाँदा बनेको आफू नेतृत्वकै समूहमा फुट आइसकेका कारण अध्यक्ष नेम्वाङ चौतर्फी दबाबमा छन् । चुनावमा बनेको मोर्चाका सबैले नियुक्तिहरुमा भाग खोजिरहेको अवस्थामा आफ्नै पनि स्वार्थको भारीले थिच्दा नेम्वाङमाथि तनाव थपिएको थियो ।

चुनावमा तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ शेर्पालाई पराजित गर्दै नेम्वाङले नेतृत्वमा कब्जा जमाए । तर उनको पूरा प्यानल विजयी भएन ।

साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुन्यो । १३ खुल्ला सदस्यका लागि भएको निर्वाचनमा चार जनाको मत समान भएपछि विशेष साधारणसभा बोलाएर पुनः मतदान गराउन बाँकी नै छ । बाँकी १२ जना नेम्वाङ प्यानलबाट विजयी भएको मान्ने हो भने पनि त्यहाँ स्वयम अध्यक्ष अल्पमतमा  छन् ।

चुनावमा उनलाई पूर्व अध्यक्षद्धय नरेन्द्र श्रेष्ठ र गणेश थापाको आर्शिवाद प्राप्त थियो । शेर्पालाई हराएर नेम्वाङ एन्फाको अध्यक्ष चुनिनुमा मुख्य भुमिका यिनै दुई पूर्वअध्यक्षबाट प्राप्त आर्शिवादको थियो । यही आधारमा नेम्वाङ प्यानलबाट निर्वाचित भएकामध्ये १० जना श्रेष्ठ र थापासँग नजिक हुनेहरु रहेको बताइन्छ ।

‘कार्यसमितिमा हामी स्पष्ट बहुमतमा छौं । तैपनि हामीले फुटबल नबिग्रियोस भनेर संयमता अपनाएका हौं । हामी सकेसम्म नेतृत्व सुध्रियोस र आगामी चार वर्ष एकजुट भएर नेपाली फुटबललाई अगाडि बढाउन पाइयोस भन्ने चाहन्छौं । तर उहाँहरुले देशी/विदेशी स्वार्थ समूहको आडमा जथाभावी गर्न खोज्नुभयो र नेपाली फुटबललाई हानी पुर्याउन खोज्नुभयो भने हाम्रो धैर्यको बाँध फुटन सक्छ । त्यसो भएमा नेतृत्वले नसोचेको दूर्घटना भोग्नुपर्छ,’ श्रेष्ठ/थापा पक्षका एक पदाधिकारीले खेलाडीसँग भने ।

चुनावी तालमेल र प्राप्त नतिजाले मिलेर जानुको विकल्प नदिए पनि एन्फा कार्यसमितिले फरक बाटो रोजेको छ । चुनाव सकिएको एक साता पनि नबित्दै नेम्वाङको नेतृत्वमा चुनावमा होमिएको समूहमा फुट आइसकेको छ । नेतृत्वले जबरजस्ती प्रक्रिया नै नपुगेको बैठकबाट अवैधानिक तरिकाले महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा जर्मन नागरिक नवीन पाँडेलाई नियुक्त गरेको आरोप छ । यही कारण पूर्व अध्यक्ष श्रेष्ठ र थापाका निकटहरु नेम्वाङसँग टाढिएका छन् ।

तर एन्फा कार्यसमितिभित्रको अंकगणितमा सबभन्दा कमजोर रहे पनि नेम्वाङहरुले श्रेष्ठ र थापा पक्षका माग सुनुवाई नगर्ने रणनीति लिएको बताइएको छ । जर्मनीबाट पाँडेले नेम्वाङको रिमोट कन्ट्रोल चलाइरहेको आरोपका बीच नेतृत्वले श्रेष्ठ÷थापा पक्षले ल्याउन चाहेका गौरव थापा, सुरेश शाह, अरुणमान जोशी, दीनेश ब्यन्जनकार र राजेन्द्र न्यौपानेहरुको बाटोमा तगारो हालेको आरोप छ ।

नेम्वाङ पक्षले पाँडेकै जोडबलमा पूर्व अध्यक्ष थापाका छोरा गौरवलाई कुनै पनि हालतमा एन्फा छिर्नबाट रोक्ने र सके प्रवक्ता नभए सह महासचिवमा भए पनि निर्वाचन समितिमा सदस्यसचिवको भूमिकामा रहेर काम गरेका बद्री भट्टराईलाई नियुक्त गर्ने रणनीति बनाएको छ ।

‘उहाँहरु आफै दुई पक्षमा विभाजित भएर आ–आफ्ना मान्छे नियुक्त गरेर एन्फा कव्जाको रणनीतिमा हुनुहुन्छ । हामी चाँही फुटबलका लागि राम्रो हुने निर्णयमा सघाउँछौं । गलत कुरामा विरोध गर्छौ,’ आफूहरुलाई दुवै पक्षबाट सहयोगका लागि अनुरोध गरिएको खुलाउँदै शेर्पा प्यानलबाट निर्वाचित एक सदस्यले खेलाडीसँग भने ।

उनले कम्तिमा सय दिन आफूहरु पूर्ण रुपमा तटस्थ बस्ने योजनामा रहेको बताए । ‘हिजो उहाँहरु एक ठाउँमा रहेर हामीलाई अत्यन्तै तल्लो स्तरमा ओर्लिएर आरोप प्रत्यारोप गर्नुभयो । अहिले लाजै नमानी कति चाँढै फेरी हाम्रै शरणमा आउन सक्नुभएको होला,’ उनले भने, ‘हामी त अहिले उहाँहरुको आफ्नै जुहारी हेरेर मनोरञ्जन लिइरहेका छौं । फुटबल विगार्नेवाहेक उहाँहरुको अर्को कुनै उद्देश्य छैन । त्यसमा चाँही हामी सफल हुन दिन्नौं ।’

एन्फा महासचिव किरण राई वाहिर चर्चा भएजस्तो आफूहरुमा फुट नआएको दाबी गर्छन । भन्छन्, ‘बाहिर भनेजस्तो होइन । हामी सबै कुरा छलफलमार्फत गर्नुपर्छ भन्नेमा विश्वास राख्छौं । त्यही छलफलका क्रममा साथीहरुबाट विभिन्न कुराहरु आउँछन् । मानिसले त्यसैलाई फुट भनेर दुष्प्रचार गरिरहेका छन् ।’

राईले नियुक्तिमा भागबण्डाको आरोप पनि सोझै अस्विकार गरे । उनले नियुक्तिको विषयमा नेपाली फुटबलमै लागेका विभिन्न व्यक्तिहरुको नाम उठेको र त्यसमा छलफल चलिरहेको बताए । ‘छलफल चलिरहेको छ । टुंगिएको छैन । धेरैजनाको नाम साथीहरुले प्रस्ताव गर्नुभएको छ । हामी छलफलमा छौं । नेपाली फुटबलको हितमा हुने गरी सहमतिमै निर्णय लिन्छौं,’ राईले थपे ।