ह्यारी मग्वायर

मग्वाएर नै युनाइटेडका कप्तान

लन्डन । म्यानचेस्टर युनाइटेडका नयाँ मुख्य प्रशिक्षक एरिक टेन हागले ह्यारी मग्वाएर नै कप्तान हुने बताएका छन् । सन् २०१९ मा लेस्टर सिटीबाट ओल्ड ट्राफोर्ड पुगेका अनुभवी सेन्टर ब्याकले कप्तानको जिम्मेवारी पाएका थिए ।

पछिल्लो समय उनको खराब लयका कारण कप्तान परिवर्तन हुन सक्ने चर्चा विपरीत मुख्य प्रशिक्षक हागले मग्वाएरले नै कप्तानीमा निरन्तरता दिने बताए ।

मंगलबार राति थाइल्यान्डको बेङ्ककमा हुने लिभरपुलविरुद्धको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक हागले मग्वाएरको निरन्तरता पुष्टि गरे ।

‘ह्यारी मग्वाएर कप्तान हुन्,’ हागले भने, ‘निश्चय नै, मैले सम्पूर्ण खेलाडीलाई चिन्नुपर्छ र त्यसका लागि समय लाग्छ । तर, उनी स्थापित कप्तान हुन् । त्यसैले यसमा मलाई कुनै शंका छैन ।’

युनाइटेडले प्रियिमर लिगकै प्रतिद्वन्द्वी लिभरपुलसँग भोलि (मंगलबार) थाइल्यान्डको राजामङ्गला रंगशालामा मैत्रीपूर्ण खेल खेल्दै छ ।