काल्भिन फिलिप्स

फिलिप्स सिटीमा अनुबन्धित

लन्डन । म्यानचेस्टर सिटीले लिड्स युनाइटेडबाट काल्भिन फिलिप्सलाई अनुबन्ध गरेको पुष्टि गरेको छ । इङ्लिस खेलाडी फिलिप्सलाई ४२ मिलियिन पाउन्डमा ६ वर्षका लागि भित्र्याएको सिटीले बताएको छ ।

आफ्नो पूरा करिअर लिड्समा बिताएका फिलिप्सलाई फर्नाडिन्होको प्रतिस्थापनका लागि पेप ग्वार्डिओलाले सिटीमा ल्याएका हुन् । फर्नाडिन्हो ९ वर्ष इतिहादमा बिताएर ब्राजिल फर्किएका छन् ।

फिलिप्स सिटीले यही सरुवा बजारमा भित्र्याएका तेस्रो खेलाडी हुन् । यसअघि फरवार्ड एर्लिङ हालान्ड र गोलपिकर स्टेफन ओर्टेगा पनि क्लबमा अनुबन्ध भइसकेका छन् ।

यस्तै जनवरीमा अनुबन्धित २२ वर्षीय अर्जेन्टाइन फरवार्ड जुलियन अल्भारेज पनि टिममा आवद्ध भइसकेका छन् । उनलाई अर्जेन्टिनाको रिभर प्लेटबाट अनुबन्ध गरेर बाँकी सिजनका लागि लोनमा दिएको थियो ।

सिटीको नयाँ खेलाडीको रुपमा सार्वजनिक हुँदै फिलिप्सले आफ्नो सपना पूरा भएको अभिव्यक्ति दिएका छन् । फिलिप्सले सिटीमा चार नम्बर जर्सी लगाउने निश्चित भइसकेको छ ।