नेपाली यु २० फुटबल टिम

घले यु २० टिमको व्यवस्थापक नियुक्त

काठमाडौं । दिवाकर घले गुरुङ नेपाली यु २० राष्ट्रिय टिमको टिम व्यवस्थापकमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार गुरुङलाई यु २० टिमको व्यवस्थापकमा नियुक्त गरेको जनाएको हो ।

महाविर क्लबका अध्यक्षसमेत रहेका गुरुङले भारतमा हुने साफ यु २० च्याम्पियनसिपमा नेपाली टिमको व्यवस्थापन सम्हाल्नेछन् । भारतको ओडिसामा हुने प्रतियोगिता जुलाई २५ देखि तीन अगस्टमा हुने तालिका छ ।

यसपछि सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने यु २० एसियन कप छनोटमा पनि गुरुङले नै नेपाली टिमको व्यवस्थापन सम्हाल्ने एन्फाले जनाएको छ ।

साफमा नेपालले जुलाई २५ मा मालिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, नेपालले जुलाई २७ मा श्रीलंका र जुलाई ३१ मा घरेलु टिम भारतविरुद्ध खेल्नेछ । नेपालले अगस्ट २ मा बंगलादेशविरुद्ध समूह चरण अन्तिम खेल खेल्नेछ ।

यसैगरी यु २० एसियन कपमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै समूह ‘बी’ मा रहेको नेपाली टिमले सेप्टेम्बर १० मा भुटानविरुद्ध पहिलो खेल खेल्नेछ ।

नेपालले सेप्टेम्बर १२ मा कतारविरुद्ध, १४ सेप्टेम्बरमा घरेलु टिम बहराइनविरुद्ध र १८ सेप्टेम्बरमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।