रोवर्ट लेवान्डोवस्की

लेवान्डोवस्की आफूलाई बेन्जेमाभन्दा अब्बल सावित गर्न चाहन्छन्: पूर्वएजेन्ट

म्युनिख । पूर्व एजेन्ट सेजारी कचार्स्कीले रोवर्ट लोवन्डोवस्की आफूलाई करिम बेन्जेमाभन्दा उत्कृष्ट रहेको प्रमाणित गर्न ला लिगामा आउन चाहेको खुलाएका छन् ।

पछिल्लो केही समयता बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोवस्की स्पेनिस क्लब बार्सिलोना आउन चाहेको चर्चा चलिरहेको बेला उनका पूर्व एजेन्ट कचार्स्कीले यस्तो खुलाएका हुन् ।

‘उनी आफू बेन्जेमाभन्दा अब्बल भएको प्रमाणित गर्न चाहन्छन् । यो बार्सिलोना अनुबन्धित हुने चाहनाको एक कारण हो । लेवान्डोवस्कीसँग कुनै लक्ष्य छैन,’ कचार्स्कीले भने, ‘उनको लागि फुटबल एक पेसामात्र हो र उनी निकै व्यवसायिक छन् । मलाई लाग्छ लेवान्डोवस्की बार्सिलोना अनुबन्धित हुनेछन् । र, यो यसै सिजन सम्भव पनि छ ।’

यस्तै, कचार्स्कीले स्पेनिस क्लबपछि लेवान्डोवस्कीको चाहना मेजर लिग सकर खेल्ने रहेको समेत खुलाए ।

‘लेवान्डोवस्कीले सम्झौताबाट फुकुवा गर्न बायर्नलाई चर्को दबाब दिइरहेका छन् । बायर्न लेवान्डोवस्कीको स्पेनिस क्लबप्रति रहेको मोहबारे जानकार छ,’ कचार्स्कीले भने ।

सन् २०१४ मा बोरुसिया डर्टमन्डबाट बायर्न अनुबन्धित भएका लेवान्डोवस्कीले हालसम्म क्लबबाट तीन सय ७३ खेलमा तीन सय ४४ गोल गरेका छन् ।

लेवान्डोवस्कीले गएको सिजन बायर्नबाट ३४ खेलमा ३५ गोल र तीन असिस्ट गरेका थिए ।