एन्फा निर्वाचन

आज चुनिनेछ एन्फाको नयाँ नेतृत्व

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को आज हुने २१औं चुनावी साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने चुनावी साधारण सभा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

विवाद र आलोचनाले गिजोलिएको नेपाली फुटबललाई सही दिशामा अगाडि बढाउने जिम्मेवारीसहित २१ सदस्यीय केन्द्रिय कार्यसमितिको टुङ्गो आज लाग्ने छ ।

कति पदका लागि चुनाव ?

अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १५ सदस्य गरेर २१ सदस्यीय कार्यसमिति चयन हुनेछ । महासचिव, सह महासचिव कोषाध्यक्ष लगायतका पद निर्वाचित कार्यसमितिले नियुक्तीमार्फत पूरा गर्नेछ ।

अध्यक्षमा कस्को प्रतिस्पर्धा ?

नेपाली फुटबलको नेतृत्व गर्नका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ–आफ्ना प्यानल लिएर चुनावी मैदानमा होमिएका छन् । यस्तै, राजीवराज पौडेलले स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा भिड्ने को छन् ?

आगामी चार वर्ष एन्फाको वरिष्ठ उपाध्यक्षको भूमिकाका लागि शेर्पा प्यानलबाट वर्तमान मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दिएका छन् । उनी सहिद स्मारक ‘बी’ डिभिजन लिगको टोली सरस्वती क्लबका अध्यक्ष हुन् ।

नेम्वाङ प्यालनबाट वर्तमान उपाध्यक्ष वीरबहादुर खड्काले आफ्नो चुनौती पेश गरेका छन् । गत वर्ष शेर्पाकै प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका खड्का सुरुदेखि नै नेम्वाङको खेमामा छन् । उनले अध्यक्षको हैसियतमा लामो समय सिन्धुपाल्चोक जिल्ला फुटबल संघमा नेतृत्व गरेका थिए ।

चार उपाध्यक्षमा कस्तो छ प्रतिस्पर्धा ?

उपाध्यक्ष पदका लागि दुवै प्यानलबाट ‘फुल कोटा’मा उम्मेदवारी परेको छ । शेर्पा प्यानलबाट वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह, वर्तमान कार्यसमितिका सदस्यद्धय रत्नकुमार श्रेष्ठ र दीर्घबहादुर (कुमार) केसी तथा लिग कमिटीका प्रमुख विज्ञानराज शर्माले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यस्तै, नेम्वाङ प्यानलबाट एन्फाका पूर्व कोषाध्यक्ष विराटजंग शाही, वर्तमान कार्यसमिति सदस्य दावा लामा, एनआरटी क्लबका सुन्दरनरसिंह जोशी, धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा उपाध्यक्ष पदका आकांक्षी छन् ।

जम्मा भोट कति ?

एन्फाको विधानअनुसार निर्वाचनमा खस्ने कुल मत ८७ हो । एन्फासँग सम्बन्धित ४८ मध्ये ४५ जिल्लाले मताधिकार पाउँछन् । गण्डकी प्रदेशका ८ मध्ये ६ र प्रदेश नम्बर १ बाट ११ मध्ये १० जिल्ला केन्द्रीय निर्वाचनमा मताधिकारका लागि चुनिन्छन् । यसपाली गण्डकीबाट गोरखा र कास्की तथा प्रदेश नम्बर १ बाट संखुवासभा प्रदेशको निर्वाचनमा पराजित भएर मताधिकारबाट वञ्चित छन् ।

यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगका १४, ‘बी’ डिभिजन लिगका १४ मध्ये ११ र ‘सी’ डिभिजन लिगका १४ मध्ये ९ क्लबले मताधिकार पाइसकेका छन् । त्यसबाहेक राष्ट्रिय लिगका लागि छनोट भएर खेल्नका लागि दुई वर्षदेखि प्रतिक्षारत चार वटा क्लबसँगै एन्फामा आवद्ध चार वटा संघले मताधिकार पाउँछन् । रेफ्री, प्रशिक्षक, खेलाडी र महिला संघले एक–एक भोट सुनिश्चित गरिसकेका छन् ।

सबै गरेर एन्फाको केन्द्रीय निर्वाचनमा खस्ने कुल मत ८७ पुग्छ ।

कति भोट बदर ?

आज हुने एन्फा निर्वाचनमा ८४ भोट मात्रै खस्ने भएको छ । दुई वटा जिल्ला भक्तपुर र सिन्धुलीमा चुनाव हुन नसक्दा मताधिकारबाट वञ्चित भएका छन् । यस्तै, सिरहा जिल्लाबाट मताधिकार पाएका एन्फा कार्यसमिति सदस्य प्रविणकुमार यादवले समयसिमाभित्र कार्यसमितिबाट राजीनामा नदिएका कारण उनी मतदानमा सहभागी हुन पाउने छैनन् ।

यसअघि निर्वाचन समितिले सरस्वती क्लब, महिला संघ, सिरहा र फ्रेन्ड्स क्लबको मताधिकार खोसेको थियो । तर, अपील कमिटिले सिरहाबाहेक अन्य मतदानमा सहभागी हुन पाउने निर्णय गरेको थियो ।

को को हुन् मतदाता ?

‘ए’ डिभिजन क्लबमध्येबाट मछिन्द्र क्लबका अनिल श्रेष्ठ, मनाङ मर्स्याङदी क्लबका सुशील गुरुङ, नेपाल आर्मी फुटबल क्लबबाट उज्जवल केसी, एपिएफ फुटबल क्लबका अर्जुन खत्री, नेपाल पुलिस क्लबका विमलाकुमारी कठायत, थ्री स्टार क्लबका सञ्जिव सिल्पकार, संकटा क्लबका रमेशध्वज बस्नेत, ब्रिगेड ब्वाइज क्लबका राजु हायजु, जावलाखेल युथ क्लबका महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका दीपक थापा, एनआरटीका सुन्दरनरसिंह जोशी, च्यासल युथ क्लबका रमेश ब्यन्जनकार, सातदोबाटो युथ क्लबका कपिल राना मगर र हिमालयन शेर्पा क्लबका वाङ्दो दोर्जे शेर्पाले मताधिकार प्राप्त गरेका छन् ।

यसैगरी ‘बी’ डिभिजनका १४ मध्ये मताधिकार प्राप्त ११ क्लबबाट नयाँ बस्ती युथ क्लबका रामकुमार तामाङ, बाँसबारी क्लबका प्रेम थापा, श्री कुमारी क्लबका रामकुमार बस्नेत, सरस्वती क्लबका उत्तमराज भण्डारी, खुमलटार युथ क्लबका वुद्धि गुरुङ, मध्यपुर युथ एसोसिएसनका अष्टकुमार कबे, चर्च ब्वाइज युनाइटेडका टंकलाल राई, टुसाल युथ क्लबका विजय लामा, ब्याइज युनियन क्लबका श्रवणकुमार श्रेष्ठ, आरसिटीका कुमार राजभण्डारी र श्री भगवती क्लब टोखाबाट मनिष जोशी मतदान प्रतिनिधि तोकिएका छन् ।

खुमलटारबाट यसअघि मणिराज बिष्ट प्रतिनिधि चुनिएका थिए । तर, उनका बुबा हरिराज बिष्टको यही असार एक गते सोमबार मृत्यु भएका कारण उनी काजकृयामा छन् । उनको सट्टा खुमलटार युथ क्लबबाट मताधिकार प्रतिनिधिका रुपमा वुद्धि गुरुङले प्रतिनिधित्व गर्ने एन्फा सचिवालयले जनाएको छ ।

त्यस्तै ‘सी’ डिभिजनका १४ मध्ये ९ क्लबलाई प्रतिनिधित्व गर्दै प्लानिङ ब्याइज युनाइटेडबाट डा। देउमान लिम्बु, खालिबारी क्लबबाट सञ्जिव पाण्डे, वीरगञ्ज युथ एकेडेमीबाट रितुकुमार शाक्य, स्वयम्भु क्लबबाट श्याम लामा, महावीर क्लबबाट दीवाकर घले, मनोहरा युनाइटेडबाट सुशान्त ओली, पुल्चोक स्पोर्टस क्लबबाट मंगलमान महर्जन, आरसी ३२ फुटबल एकेडेमीबाट सुनील देवकोटा र समाज कल्याण खेलकुद केन्द्रबाट सरोज महर्जनले मताधिकार प्राप्त गरेका छन् ।

फुटबल खेलाडी संघबाट विक्रम लामा, प्रशिक्षक संघबाट राजेन्द्र तामाङ, रेफ्री संघबाट बुद्धिबहादुर गुरुङ तथा महिला संघबाट विना श्रेष्ठले मताधिकार हासिल गरेका छन् । यसैगरी राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबमध्ये रौतहटको मनकामना युवा क्लबबाट नेपाल कार्कीले मताधिकार पाउँदा लमजुङको त्रिवेणी युवा क्लबबाट विनोद गुरुङ, बाँकेको धम्बोजी स्पोर्टस क्लबबाट देवेन्द्र खड्का र कैलालीको स्टार सिटी युवा क्लबबाट नरेन्द्र शाहले मताधिकार पाएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी मताधिकार प्राप्त ४३ जिल्ला संघमध्ये बाग्लुङबाट जयराज भण्डारी, बाँकेबाट भोजराज शाही, बाराबाट रामचन्द्र लामा, बर्दियाबाट अजित राजभण्डारी, भोजपुरबाट प्रविणकुमार सुवाल, चितवनबाट श्रीकृष्ण कार्की, दाङबाट सञ्जाद धिताल, धादिङबाट दीपक खतिवडा, धनकुटाबाट मणि चेम्जोङ र धनुषाबाट रामकेवल मुखिया मतदान प्रतिनिधि तोकिएका छन् ।

दोलखाबाट कौरव पाण्डे, इलामबाट विप्लव कोइराला, झापाबाट भागिरथ आले, जुम्लाबाट अजय बुढ थापा, कैलालीबाट अनिल मल्ल, कञ्चनपुरबाट गणेशबहादुर चन्द, काठमाडौंबाट विराटजंग शाही, काभ्रेबाट विकासनारायण श्रेष्ठ, ललितपुरबाट पुरुषोत्तम थापा र लमजुङबाट लोकेन्द्र गुरुङले मताधिकार प्राप्त गरेका छन् ।

त्यस्तै मताधिकार प्राप्त अन्य प्रतिनिधिमा महोत्तरीका प्रमोदकुमार मानन्धर, मकवानपुरका टिकाराम लामा, मोरङका सञ्जिव बुढाथोकी, नवलपरासीका धनप्रसाद गुरुङ, नुवाकोटका देवनारायण चित्रकार, पाल्पाका प्रज्वलप्रसाद उदय, पाँचथरका सुरेश शाह, पर्साका अनिलकुमार कलवार, रौतहटका भगवानबहादुर दर्लामी र रुपन्देहीका लोकबहादुर पुन छन् ।

सप्तरीबाट रमेशकुमार श्रेष्ठ, सर्लाहीबाट ठाकुरबहादुर सलिम, सिन्धुपाल्चोकबाट अमृतमान श्रेष्ठ, सुनसरीबाट नवीन राई, सुर्खेतबाट रविन्द्र चन्द, स्याङ्जाबाट मुक्तबहादुर राना, तनहुबाट सत्य मल्ल, ताप्लेजुङबाट खगेनसिंह हाङ्गाम, उदयपुरबाट रजन कार्की, मनाङबाट यज्ञ घले, खोटाङबाट ध्रुवविक्रम राई र नवलपुरबाट सेनबहादुर पुनले मताधिकार हासिल गरेका छन् ।

चुनावपछि नियुक्ती/मनोनयन हुने पद के के हुन् ?

आज हुने निर्वाचनले एन्फाको २१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । तर, कार्यसमितिले पूर्णता पाउन अझै ६ पदाधिकारी नियुक्त हुनुपर्ने हुन्छ । यसरी कार्यसमितिले नियुक्त गर्ने पदाधिकारीमा एक जना महासचिव, तीन जना सहायक महासचिव, एक जना कोषाध्यक्ष र एक जना सहायक कोषाध्यक्ष हुनेछन् । एन्फाको कार्यसमितिले थप एक जना मानार्थ अध्यक्ष र एक जना मानार्थ वरिष्ठ उपाध्यक्षलाई चयन गर्न पाउँछ । तर, मानार्थ पद अनिवार्य भने होइनन् ।