एन्फा चुनाव

आइतबार तय भएको एन्फा कार्यसमिति बैठक बसेन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन अघि आइतबार बस्ने भनिएको कार्यसमिति बैठक स्थगित भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ५ बजे बोलाइएको बैठकका लागि केही पदाधिकारी पुगेपछि मौखिकमा रुपमा स्थगित भएको जानकारी गराइएको उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।

‘पाँच बजे बोलाइएको बैठक स्थगित भएको भन्ने थाहा भयो,’ उपाध्यक्ष खड्काले भने, ‘किन स्थगित भन्ने कारणबारे केही खुलाइएको छैन । तर भोलि बिहान बस्ने सम्भावना छ ।’

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको भोलि आगामी चार वर्षे कार्यकालको नेतृत्व चयनका लागि चुनाव हुँदैछ । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ–आफ्ना प्यानल लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै, राजीवराज पौडेलले पनि स्वतन्त्ररुपमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।