युइएफए नेसन्स लिग

स्पेन शीर्ष स्थानमा उक्लियो

मड्रिड । युइएफए नेसन्स लिगमा लगातार दोस्रो जित निकाल्दै स्पेन समूह ए२ को शीर्ष स्थानमा उक्लिएको छ ।

स्पेनले आइतबार भएको खेलमा चेक रिपब्लिकलाई २-० ले पराजित गर्यो । यसअघि लुइस एनरिकेको प्रशिक्षणमा रहेको स्पेनले स्विट्जरल्यान्डलाई पराजित गरेको थियो । त्यसअघि स्पेनले दुई खेल बराबरी खेलेको थियो ।

भ्यालेन्सियाका मिडफिल्डर कार्लोस सोलेरले २४औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । सोलेरको यो तेस्रो अन्तर्राष्ट्रिय गोल थियो । र, बेन्चबाट आएका पाब्लो साराबियाले ७५औं मिनेटमा गोल गरेपछि स्पेनले २-० को जित निश्चित गरेको थियो ।

जितसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको स्पेनले चार खेलबाट दुई जित र दुई बराबरीको नतिजासहित आठ अंक जोडेको छ । यस्तै, तालिकाको तेस्रो स्थानमा रहेको चेक रिपब्लिकको चार अंक छ ।